बाणगंगाको बाढीमा दुःखद घटना : बेपत्ता १० वर्षीय बुद्धको शव भारतमा फेला


पालिका पत्र

13 September, 2026 6:48 pm मा प्रकाशित

कपिलवस्तु, २८ भदौ । बाणगंगा खोलामा आएको बाढीमा बगेर बेपत्ता भएका कपिलवस्तुका १० वर्षीय बालक बुद्ध लामाको शव भारतमा भेटिएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मायादेवी रंगशालाको पूर्वतर्फ करिब एक किलोमिटर दक्षिण बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा शनिबार दिउँसो नदीको बीचमा रहेको टापुमा फसेका थिए । उद्धार टोलीले रिदमलाई सकुशल उद्धार गरेको थियो । तर, १० वर्षीय बुद्ध लामा भने घटनास्थलमा फेला परेका थिएनन् ।

खोजीका क्रममा आईतबार दिउँसो नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर दक्षिण भारतको सिद्धार्थनगर जिल्लाअन्तर्गत सौरतगढ थाना क्षेत्रमा पर्ने बगुलाहा खोला किनारमा बुद्धको शव फेला परेको जानकारी प्राप्त भएको थियो । शव भेटिएको जानकारीपछि आफन्तलाई खबर गरिएको र फोटो तथा भिडियोका आधारमा आफन्तले बुद्धको पहिचान गरेका थिए । भारतीय प्रहरीसँग आवश्यक समन्वय गरी शव नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको थियो ।

बुद्धका हजुरबुवा कर्ण बहादुर लामासहित आफन्त र प्रहरी टोली भारत पुगेको थियो । घटनास्थलमा पुगेपछि हजुरबुवा लामाले शवको पहिचान गर्नुभएको थियो । त्यसपछि शव नेपाल ल्याई आईतबार साँझ करिब ४ः२० बजे पिपरा अस्पताल, कपिलवस्तुको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्