असार ४, कपिलवस्तु ।
कर सहयोगी श्रमिक संगठन नेपालको संयुक्त जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिवेशन भैरहवामा सम्पन्न भएको छ। अधिवेशनले गणेश खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
भैरहवास्थित होटल अल्ट्रा इन्टरनेसनलमा आयोजित अधिवेशनमा संगठनका केन्द्रीय अध्यक्ष तारनाथ दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष नारायण पौडेल, शङ्कर ढुङ्गाना, महासचिव नवराज बर्तौला, सचिव विष्णुप्रसाद आचार्य, केन्द्रीय सदस्यहरू बाबुराम भट्टराई, दीपक गैरे तथा प्रदेश सचिव श्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो।
अधिवेशनबाट कपिलवस्तुका वासुदेव खनाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा रिशभ अग्रवाल, मदनमोहन चौबे र अर्जुन भट्टराई, सचिवमा प्रेमबहादुर चौधरी, कोषाध्यक्षमा अभिजेस कँहार तथा सदस्यहरूमा मोहम्मद अफरोज, टेकै थारु, जितेन्द्रकुमार गुप्ता, राहुल गुप्ता, प्रकाश न्यौपाने, एजाज अहमद, केसी शर्मा, प्रतीककुमार अग्रवाल र धर्मेन्द्र चतुर्वेदी निर्विरोध चयन भएका छन्।
नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष वासुदेव खनालले कर सहयोगीहरूले देशभरका साना तथा मझौला व्यवसायीहरूलाई गुणस्तरीय, जिम्मेवार र विश्वासयोग्य सेवा प्रदान गर्दै आएको बताउनुभयो। उहाँले कर तथा लेखासम्बन्धी कार्यमा व्यवसायीहरूको कर सहयोगीप्रतिको विश्वास बढ्दै गएको उल्लेख गर्दै सेवाको गुणस्तरलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले संगठनलाई थप सशक्त, व्यवस्थित र व्यवसायिक बनाउँदै कर सहयोगीहरूको हकहित, पेशागत सुरक्षा, क्षमता अभिवृद्धि तथा सामाजिक सम्मानका लागि सबै सदस्य एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
नवनिर्वाचित अध्यक्ष गणेश खनालले सदस्यहरूले व्यक्त गरेको विश्वासप्रति आभार व्यक्त गर्दै संगठनलाई पारदर्शी, उत्तरदायी र सदस्यमुखी बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले कर सहयोगीहरूको पेशागत अधिकार संरक्षण, तालिम तथा क्षमता विकास तथा संगठन विस्तारलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो।
अधिवेशनले कर सहयोगी श्रमिकहरूको एकता, पेशागत मर्यादा र संगठनात्मक विकासलाई थप सुदृढ बनाउने तथा साना तथा मझौला व्यवसायीहरूको भरपर्दो साझेदारका रूपमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


