कपिलवस्तु, १६ असार । लुम्बिनी सांस्कृतिक नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सम्बन्धी १७औँ नगरसभाको अधिवेशन सम्पन्न भएको छ।
नगरसभाको अध्यक्षता सभा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, सम्पूर्ण वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, उपसचिव हरि प्रसाद ज्ञवाली, लेखा अधिकृत रामचन्द्र अर्याल, वरिष्ठ प्रशासन अधिकृत एवं प्रशासन शाखा प्रमुख धर्मेन्द्र बेल्वासे, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरी विस्तृत छलफल गरिएको थियो। छलफलपछि रु. १ अर्ब ७५ करोड ७८ लाख ७३ हजार बराबरको वार्षिक बजेट सर्वसम्मत रूपमा स्वीकृत तथा पारित गरिएको नगरपालिकाले जनाएको छ। साथै, सभामा प्रस्तुत विभिन्न प्रस्तावहरूमाथि आवश्यक निर्णयसमेत गरिएको थियो।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, वातावरण संरक्षण, सामाजिक सुरक्षा तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम अघि सारेको जनाएको छ।
नगरसभा सफलतापूर्वक सम्पन्न गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा सहभागी सबैप्रति नगरपालिकाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
नगरपालिकाका अनुसार स्वीकृत नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमार्फत समृद्ध, व्यवस्थित र जनमुखी स्थानीय शासनलाई थप सुदृढ बनाउने लक्ष्य लिइएको छ।



