प्राविधिक शिक्षा समृद्धिको आधार : कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा नवप्रवेशी विद्यार्थीलाई अभिमुखीकरण


पालिका पत्र

30 June, 2026 8:02 am मा प्रकाशित

असार १६, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरास्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठान ले नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। वि।सं। २०५४ मा स्थापना भएको प्रतिष्ठानले प्राविधिक तथा स्वास्थ्य शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।

कार्यक्रमका प्रमुख वक्ता तथा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष एवं प्रतिष्ठानका निर्देशक अरुणकुमार पाण्डेय ले प्राविधिक शिक्षा मुलुकको समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनमा प्रतिष्ठान निरन्तर प्रतिबद्ध रहेको बताए।

त्यसैगरी, कपिलवस्तु अस्पताल का अध्यक्ष श्याम प्रजापति र प्रशासकीय प्रमुख पुनितकुमार मिश्र ले स्वास्थ्य क्षेत्रमा प्राविधिक शिक्षाको आवश्यकता र यसको बढ्दो महत्वबारे प्रकाश पारे।

कार्यक्रममा शिक्षक विरेन्द्र गुप्ता र विक्रम घिमिरे ले प्रतिष्ठानको शैक्षिक गुणस्तर, अनुशासन तथा अध्ययन पद्धतिबारे जानकारी गराएका थिए। विद्यार्थी अभिमुखीकरण यदु पौडेल ले गरेका थिए भने कार्यक्रमको सञ्चालन लेखा प्रमुख नन्दराम पौडेल ले गरेका थिए।

कार्यक्रममा दैलेख टेक्निकल स्कुल व्यवस्थापन समितिका सदस्य चक्रबहादुर चन्द, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यसैबीच प्रतिष्ठान प्रशासनले ल्याब टेक्निसियन कार्यक्रममा केही सिट अझै खाली रहेको जानकारी दिँदै इच्छुक विद्यार्थीलाई शीघ्र सम्पर्क गर्न आग्रह गरेको छ।

हाल प्रतिष्ठानमा एच।ए।, फार्मेसी, ल्याब टेक्निसियन, फिजियोथेरापी तथा अमिन विषयको अध्ययन–अध्यापन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्