असार २२, कपिलवस्तु ।
तौलिहवामा सञ्चालित तीन यातायात व्यवसायी प्रालिबीचको विवादका कारण तौलिहवा–भैरहवा सडकखण्डमा बस सेवा अनियमित बनेपछि यात्रुले सास्ती भोग्नुपरेको छ।
चार दिनअघि पश्चिम नेपाल बस व्यवसायी समितिले तौलिहवाबाट काठमाडौंका लागि दैनिक बिहान ८:३० बजे ‘तौलेश्वरनाथ’ नामको विद्युतीय (ईभी) बस सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीबीच विवाद चर्किएको हो।
प्राचीन कपिलवस्तु यातायात प्रालिले नयाँ ईभी सेवा सञ्चालन हुँदा आफ्नो व्यवसाय प्रभावित हुने भन्दै उक्त बस सञ्चालनमा अवरोध गरेको जनाएको छ। त्यसयता पश्चिम नेपाल, सिद्धार्थ यातायात र प्राचीन कपिलवस्तु यातायात प्रालिबीचको विवादका कारण तौलिहवा–भैरहवा रुटमा बस सेवा नियमित हुन सकेको छैन।
व्यवसायी रञ्जित बर्माले ‘तौलेश्वरनाथ’ नामको ईभी बस दैनिक बिहान तौलिहवाबाट काठमाडौंका लागि सञ्चालनमा ल्याएका छन्। यही सेवा सुरु भएदेखि व्यवसायीबीचको विवाद थप चर्किएको बताइएको छ।
विवादपछि प्राचीन कपिलवस्तु यातायात प्रालिले तौलिहवा बसपार्कबाट पश्चिम नेपाल र सिद्धार्थ यातायातका बस सञ्चालन गर्न नदिएको आरोप लागेको छ। यता पश्चिम नेपाल र सिद्धार्थ यातायातले भैरहवामा प्राचीन कपिलवस्तु यातायातका बस सञ्चालनमा अवरोध गरेको जनाइएको छ। यसले तौलिहवा–भैरहवा रुटको बस सेवा प्रभावित भएको छ।
यात्रुका अनुसार पहिले करिब प्रत्येक १ घण्टा २५ मिनेटको अन्तरालमा बस उपलब्ध हुने गरे पनि अहिले आधा घण्टादेखि ४० मिनेटको अन्तरालमा मात्र बस सञ्चालन भइरहेको छ। साथै, पहिले करिब १ घण्टा २५ मिनेटमा पूरा हुने यात्रा अहिले ३ घण्टाभन्दा बढी समय लाग्ने गरेको यात्रुहरूको गुनासो छ।
व्यवसायीबीचको विवादका कारण आफूहरूले अनाहकमा दुःख पाउनुपरेको यात्रुहरूले बताएका छन्।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विवाद समाधानका लागि आवश्यक पहल गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको जानकारी दिएका छन्।



