कपिलवस्तु, २३ आसर । बाणगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो तथा अन्तिम चौमासिक अवधिमा सम्पन्न विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक गतिविधिबारे नागरिकलाई जानकारी गराउँदै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
बाणगङ्गा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाको प्राविधिक सहयोगमा वडा नं. ८ स्थित मालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा नगरपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिक अवधिमा सम्पन्न विकास निर्माण, बजेट कार्यान्वयन, सेवा प्रवाह, सामाजिक विकास तथा पूर्वाधार निर्माणका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको थियो। साथै आगामी नीति, योजना तथा कार्यक्रममा नागरिकबाट प्राप्त सुझाव र प्रतिक्रियालाई समेट्ने प्रतिबद्धता पनि जनाएको छ ।
सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरूले सेवा प्रवाह, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा तथा वातावरण संरक्षणलगायतका विषयमा जिज्ञासा, सुझाव र गुनासा राखेका थिए। उठाइएका विषयमा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, उपप्रमुख रीता कुमारी चौधरी तथा नगर प्रमुख चक्रपाणि अर्यालले स्पष्ट जवाफ दिँदै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका सहजीकरणकर्ता नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले सार्वजनिक सुनुवाइ लोकतान्त्रिक शासन प्रणालीको प्रभावकारी अभ्यास भएको बताए । उनले नागरिक र जनप्रतिनिधिबीच प्रत्यक्ष संवाद स्थापित गरी स्थानीय सरकारप्रतिको विश्वास अभिवृद्धि गर्न तथा सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे ।
सहभागीहरूले सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई अझ विश्वासिलो, उत्तरदायी र सहभागितामूलक बनाएको धारणा राखे । यस्ता कार्यक्रमले जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवार बनाउनुका साथै नागरिकलाई आफ्ना सरोकार प्रत्यक्ष रूपमा राख्ने अवसर प्रदान गर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रम सफल बनाउन प्राविधिक सहयोग गरेको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाप्रति बाणगङ्गा नगरपालिकाले आभार व्यक्त गरेको छ । साथै सक्रिय सहभागिता जनाई रचनात्मक सुझाव दिने सम्पूर्ण नगरवासी, विशेषगरी वडा नं. ८ का स्थानीयबासीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि नागरिक सहभागितालाई थप सुदृढ बनाउँदै सुशासन, पारदर्शिता र उत्तरदायी स्थानीय शासनको अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।



