चापाकल सुकेपछि शिवराज–३ मा ट्याङ्करमार्फत घर–घरमा खानेपानी वितरण


पालिका पत्र

7 July, 2026 9:23 am मा प्रकाशित

कपिलवस्तु, असार २२।

कपिलवस्तुको शिवराज नगरपालिका–३ मा खडेरीका कारण अधिकांश चापाकल सुकेपछि खानेपानीको समस्या उत्पन्न भएको छ।

वडाका मदवा, खरेन्द्रपुर, सोनवर्सी, शान्तिपुर, हर्ष बाहिनी टोल, स्वर्गद्वारी टोल तथा मदवा डाँडा टोलमा भूमिगत पानीको सतह घटेपछि स्थानीयवासीले खानेपानीको अभाव झेल्नुपरेको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो।

खानेपानीको समस्याबाट प्रभावित नागरिकलाई राहत दिन वडा अध्यक्ष सापकोटाले ट्याङ्करमार्फत घर–घरमा पानी वितरण अभियान सुरु गर्नुभएको छ। हाल दैनिक पाँचदेखि ६ वटा ट्याङ्करमार्फत पानी वितरण भइरहेको छ भने प्रत्येक घरपरिवारलाई १०० लिटरका दरले खानेपानी उपलब्ध गराइँदै आएको उहाँले बताउनुभयो।

वडा कार्यालयले खानेपानीको अभाव कायम रहेसम्म आवश्यकताअनुसार पानी वितरण कार्यलाई निरन्तरता दिने जनाएको छ।

लामो समयदेखि परेको खडेरीका कारण जनजीवन प्रभावित बनेको अवस्थामा घर–घरमै खानेपानी उपलब्ध हुन थालेपछि राहत महसुस भएको स्थानीय नवराज पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्