कपिलवस्तु, असार २८। कपिलवस्तुको वाणगंगा नगरपालिका–८ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालित लक्षित वर्ग सहयोग तथा सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमअन्तर्गत २२८ जना एकल महिला तथा पुरुषलाई नगद सहयोग प्रदान गरिएको छ। त्यसैगरी अपाङ्गता भएका, असहाय तथा विपन्न परिवारलाई सहयोग सामग्री वितरण गर्नुका साथै युवा–युवतीलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। सामुदायिक वनले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायका विपन्न तथा लक्षित वर्गको जीवनस्तरमा सकारात्मक सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले सामुदायिक वनहरू केवल वन संरक्षणमा सीमित नरही सामाजिक विकास, मानव कल्याण र समुदायको आर्थिक सशक्तीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्न थालेको बताए। स्थानीय सरकार र सामुदायिक वनबीचको सहकार्यले समावेशी विकासलाई थप प्रभावकारी बनाउने उल्लेख गर्दै उनले यस्ता कार्यक्रमलाई नगरपालिकाले निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी डिभिजन वन कार्यालयका प्रमुख यादव सापकोटाले सामुदायिक वनको सफलता केवल वन संरक्षणमा मात्र नभई समुदायप्रति निर्वाह गरेको सामाजिक उत्तरदायित्वबाट पनि मापन हुने बताए। वनबाट प्राप्त आम्दानीलाई पारदर्शी र न्यायोचित रूपमा लक्षित वर्गको हितमा परिचालन गर्नु अनुकरणीय कार्य भएको उल्लेख गर्दै उनले अन्य सामुदायिक वनहरूले पनि यस्ता उदाहरणीय अभ्यासबाट प्रेरणा लिनुपर्ने धारणा राखे।
वाणगंगा नगरपालिका–८ का वडा अध्यक्ष बाबुराम अर्यालले मधुवन सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक रूपान्तरणका क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए। वनको आम्दानीलाई वास्तविक आवश्यकता भएका नागरिकसम्म पुर्याउने कार्यले सामाजिक न्याय र समावेशी विकासलाई टेवा पुगेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।
सब–डिभिजन वन कार्यालयका प्रतिनिधि एजाज अहमद अन्सारीले सामुदायिक वनको दिगो व्यवस्थापनसँगै समुदायको जीवनस्तर सुधारमा केन्द्रित कार्यक्रमहरू सञ्चालन हुनु सकारात्मक पक्ष भएको बताए। वन संरक्षण र सामाजिक विकासलाई सँगसँगै अघि बढाउँदा दिगो विकासको लक्ष्य हासिल गर्न सहज हुने उनको भनाइ थियो।
मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपककुमार सापकोटाले वनबाट प्राप्त आम्दानीलाई समुदायको आवश्यकता र प्राथमिकताअनुसार पारदर्शी ढंगले परिचालन गर्दै आएको जानकारी दिए। उनले वन संरक्षण, जैविक विविधता संरक्षण र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै समुदायको समग्र विकासका लागि समूह निरन्तर सक्रिय रहेको बताए।
उनका अनुसार यस आर्थिक वर्षमा सामुदायिक वनले उपभोक्ता समूहअन्तर्गत रहेका पाँचवटै टोललाई खेलकुद सामग्री, थारु सांस्कृतिक बाजा, भजन–कीर्तनका लागि हार्मोनियम तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरेको छ। साथै सामुदायिक कार्यक्रम सञ्चालनका लागि क्याटरिङ सामग्री समेत उपलब्ध गराइएको छ।
त्यसैगरी पाँचवटै टोलका असहाय तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको, विभिन्न आमा समूहलाई पोशाक तथा झाँकी सामग्री हस्तान्तरण गरिएको, २२ स्थानमा शौचालय निर्माण गरी सम्बन्धित लाभग्राहीलाई चाबी हस्तान्तरण गरिएको तथा लागूऔषधको कुलतमा परेका व्यक्तिका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए।
कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै लक्षित वर्गका नागरिकलाई प्रत्यक्ष सहयोग पुर्याएको कार्य अत्यन्त प्रशंसनीय रहेको बताए। उनीहरूले वनको आम्दानीलाई जनमुखी, पारदर्शी र समावेशी ढंगले परिचालन गर्दै यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम मधुवन सामुदायिक वन उपभोक्ता समूहकी सचिव देवकला सुनारको सञ्चालनमा सम्पन्न भएको थियो।



