वनको आम्दानीबाट कृषकलाई १० हाते ट्याक्टर वितरण


पालिका पत्र

12 July, 2026 7:21 pm मा प्रकाशित

कपिलवस्तु, असार २८। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ स्थित डोहोटे सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनबाट प्राप्त आम्दानीलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्दै कृषकलाई १० थान हाते ट्याक्टर वितरण गरेको छ।

वनबाट उत्पादित काठ तथा दाउरा बिक्रीबाट संकलित आम्दानी प्रयोग गरी खरिद गरिएका ट्याक्टर कृषकलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो। समूहका अध्यक्ष रेशमराज बञ्जाडेका अनुसार एउटा हाते ट्याक्टरको मूल्य ६२ हजार रुपैयाँ रहेको छ, जसमा ३१ हजार रुपैयाँ सामुदायिक वनले व्यहोरेको छ भने बाँकी ३१ हजार रुपैयाँ सम्बन्धित कृषकले लगानी गरेका छन्।

उनले समुदायको सक्रिय सहभागितामा वर्षौंदेखि वन संरक्षण गर्दै आएकाले अहिले त्यसको प्रतिफल गाउँलेले प्रत्यक्ष रूपमा पाउन थालेको बताए। संरक्षण गरिएको वनबाट उत्पादन भएको काठ तथा दाउरा बिक्रीबाट प्राप्त आम्दानीलाई कृषकको उत्पादन वृद्धि र आयआर्जनमा सहयोग पुग्ने गरी परिचालन गरिएको उनको भनाइ छ।

अध्यक्ष बञ्जाडेका अनुसार गाउँमा युवा जनशक्तिको अभावसँगै हल गोरु पाल्ने किसानको संख्या घट्दै गएको छ। यसका कारण रोपाइँको समयमा खेत जोत्न समस्या हुँदै आएको थियो। विशेषगरी धान रोपाइँको व्यस्त समयमा सबै किसानले एकैपटक खेत जोत्न नसक्दा उत्पादनमा समेत असर पर्ने गरेको थियो।

‘हाते ट्याक्टर उपलब्ध भएपछि कृषकहरू तत्काल खेतमा काम गर्न जुटेका छन्,’ उनले भने, ‘गोरुले दिनभर लगाउने काम ट्याक्टरले छोटो समयमै सम्पन्न गर्ने भएकाले खेत जोत्न, हिल्याउन र सम्याउन निकै सहज भएको छ। यसले धान रोपाइँ समयमै सम्पन्न गर्न ठूलो सहयोग पुगेको छ।’

उनका अनुसार वितरण गरिएका १० वटा हाते ट्याक्टरले गाउँभरिका कृषकलाई सेवा पुर्‍याउनेछन्। आधुनिक कृषि प्रविधिको प्रयोगसँगै श्रम, समय र लागतमा समेत कमी आउने विश्वास गरिएको छ।

डोहोटे सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै प्राप्त आम्दानीलाई उत्पादनमुखी कार्यक्रम, आयआर्जन, कृषि आधुनिकीकरण तथा गाउँको समग्र विकासमा लगानी गर्दै आएको जनाएको छ। वनको आम्दानीलाई समुदायको हितमा सदुपयोग गर्ने अभ्यासले स्थानीय कृषक उत्साहित भएका छन् भने सामुदायिक वन व्यवस्थापनको प्रभावकारी नमुनाका रूपमा डोहोटे सामुदायिक वन स्थापित हुँदै गएको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्