सैनामैना । उपकार अनलाइन डट कमको आयोजनामा जिल्लास्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीको सैनामैनामा सम्पन्न प्रतियोगिताको उपाधि बुटवलस्थित दीप बोर्डिङ हाइ स्कुलकी दिप्पी केशरीले जितेकी छन् ।
सैनामैना नगरपालिकाको संरक्षणमा ‘विद्यालय खेलकुदः सम्भावना, अवसर र चुनौती’ विषयमा सैनामैना–२ स्थित त्रिमूर्ति पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न गाउँपालिका, नगरपालिका तथा उपमहानगरपालिकाबाट आएका १८ विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा उतकृष्ट प्रस्तुति दिँदै दीप बोर्डिङ हाइ स्कुलमा कक्षा ११ मा अध्ययनरत डिम्पी केशरी प्रथम भएकी हुन् । प्रथम भएकी केशरीले नगद रु १० हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै, गैडहवा गाउँपालिकास्थित दिव्य ज्योति इङ्लिस बोर्डिङ स्कुलकी कक्षा १० की आन्शिका चौधरी द्वितीय हुँदै नगद रु ७ हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरिन् ।
सैनामैना–२ स्थित लिटिल बर्ड्स इङ्लिस स्कुलकी पुनम गाहा मगर तृतीय हुँदै नगद रु ५ हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्दा ।
सैनामैना–८ रामापुरस्थित रिभाइवल इङ्लिस स्कुलकी रितिका बस्यालले सान्त्वना स्थान हासिल गर्दै नगद रु ३ हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरिन् ।
प्रतियोगिता निकै प्रतिस्पर्धात्मक बनेको थियो । विद्यार्थीहरूले ‘विद्यालय खेलकुद स् सम्भावना, अवसर र चुनौती’ विषयमा आफ्ना विचार, तर्क र दृष्टिकोण प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए । जिल्लाका विभिन्न स्थानीय तहबाट आएका विद्यार्थीहरूको सहभागिताले प्रतियोगितालाई थप रोचक र अर्थपूर्ण बनाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले शिक्षा र खेलकुद विद्यार्थी जीवनका समान रूपमा महत्वपूर्ण पक्ष भएको बताउनुभयो । सञ्चार गृहले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको यस्ता कार्यक्रमले विद्यार्थीभित्र लुकेको प्रतिभा प्रस्फुटन गराउनुका साथै समाजमा सकारात्मक प्रभाव पार्ने उहाको भनाइ थियो ।
कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन लुम्बिनी प्रदेश सचिव कृष्णप्रसाद शर्माले आजका विद्यार्थी नै भोलिका कर्णधार भएको उल्लेख गर्दै खेलकुदले विद्यार्थीको शारीरिकसँगै मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
वक्तृत्वकलासँगै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन विभिन्न सांस्कृतिक तथा हास्य प्रस्तुतिसमेत राखिएको थियो। कार्यक्रममा न्यू एकेडेमी बोर्डिङ स्कुल र सिद्धार्थ मेमोरियल स्कुलका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै, चर्चित हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ ले आफ्नो हास्य प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रममा उपस्थित विद्यार्थी, शिक्षक, अभिभावक तथा अतिथिलाई मनोरञ्जन प्रदान गरेका थिए ।
प्रतियोगिताको निर्णायक भूमिकामा दलबहादुर गुरुङ, यदुलाल पन्त र सुमन अधिकारी रहेका थिए । निर्णायक मण्डलले विद्यार्थीहरूको विषयवस्तुको ज्ञान, प्रस्तुति शैली, तर्क, आत्मविश्वास, भाषाशैली तथा समय व्यवस्थापनलगायतका पक्षका आधारमा मूल्याङ्कन गरेका थिए ।
कार्यक्रम उपकार सञ्चार गृह प्रा.लि.का अध्यक्ष बिमल गैरेको अध्यक्षता, सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक दीपक न्यौपानेको स्वागत र महेश खनालको सञ्चालनमा सम्पन्न भएको हो । उपकार सञ्चार गृहले विद्यार्थीमा रहेको वक्तृत्वकला, नेतृत्व क्षमता तथा सिर्जनात्मक प्रतिभाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ। प्रतियोगिताको दोस्रो सस्करण पनि आगामी वर्ष गर्ने सञ्चार गृहका अध्यक्ष विमल गैरेले बताउनुभयो ।

