पोषण सुधार्न सामुदायिक विद्यालयलाई पत्रु खाना निषेधित क्षेत्र घोषणा


पालिका पत्र

1 July, 2026 6:02 am मा प्रकाशित

असार १६, कपिलवस्तु ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाका सामुदायिक विद्यालयहरूलाई पोषण सुधार तथा स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले पत्रु खाना (जङ्क फुड) निषेधित क्षेत्र घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुद्वारा सञ्चालित ‘सामुदायिक विद्यालयमा अस्वस्थकर खाना नियमन तथा नियन्त्रण कार्यक्रम’ अन्तर्गत आवश्यक मापदण्ड पूरा गरेका विद्यालयहरूलाई जङ्क फुड निषेधित क्षेत्रको प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रम अन्तर्गत दुग्धाधारी नमुना माध्यमिक विद्यालय, गुगौलीस भुवनेश्वरी माध्यमिक विद्यालय, जगदीशपुरस हरिबोध माध्यमिक विद्यालय, प्रेमनगरस जनजागृति माध्यमिक विद्यालय, लोहरौला तथा शिव माध्यमिक विद्यालय, डालपुरलाई जङ्क फुड निषेधित क्षेत्र घोषणा गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।

विद्यालय परिसरमा चाउचाउ, चिप्स, कोल्डड्रिंक्स लगायतका अस्वस्थकर तथा पत्रु खानाको बिक्री वितरण र प्रयोगलाई नियन्त्रण गर्दै स्वास्थ्यकर खानाको प्रवर्धन गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । साथै, विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउने तथा विद्यार्थीहरूमा स्वस्थ खानपानको बानी विकास गर्ने लक्ष्य राखिएको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले बताउनुभयो ।

उहाँले बालबालिकाको स्वास्थ्य र पोषण सुधारका लागि विद्यालय, अभिभावक तथा स्थानीय तहबिचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै जङ्क फुडमुक्त विद्यालय अभियानलाई निरन्तरता दिइने बताउनुभयो । स्वास्थ्य कार्यालयले विद्यालय तहबाटै अस्वस्थकर खानाको प्रयोग नियन्त्रण गरी बालबालिकाको स्वास्थ्य संरक्षण तथा पोषण सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्