वाणगंगा, ०२ मंसिर । इलाका प्रहरी कार्यालय पिपराले प्रहरी निरीक्षक कालिका कार्कीले नेतृत्व सम्हालेको तीन महिना नपुग्दै उत्कृष्ट कार्यसम्पादनका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट पुरस्कार तथा सम्मान प्राप्त गरेको छ ।
कार्यालयले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान गर्न र नागरिकको जीउधनको सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले पिपरा प्रहरी कार्यालयलाई पुरस्कृत गरेको हो ।
प्रहरी निरीक्षक कार्कीको नेतृत्वमा पिपरा प्रहरीले शान्ति सुरक्षा व्यवस्थापनसँगै भन्सार छली, लागूऔषध ओसारपसार, चोरी निकासी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा सक्रियता देखाउँदै आएको छ । त्यस्तै, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने र प्रहरी–नागरिक सम्बन्धलाई थप सुमधुर बनाउँदै नागरिकमैत्री सेवा प्रवाहमा समेत कार्यालयले प्राथमिकता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी तथा प्रहरी युनिटलाई सम्मान गर्ने क्रममा पिपरा प्रहरी कार्यालयलाई पनि पुरस्कृत गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले प्रहरी युनिट प्रमुखहरूको उपस्थितिमा समसामयिक विषयमा निर्देशन तथा सम्बोधन गर्दै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी र कार्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।
प्रहरी निरीक्षक कार्कीको नेतृत्वमा छोटो अवधिमै देखिएको कार्यगत सक्रियता, जिम्मेवारीबोध र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धताको कदरस्वरूप पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कात्तिक ३० गते आयोजित कार्यक्रममा प्रहरी निरीक्षक कार्की र इलाका प्रहरी कार्यालय पिपरालाई सम्मान गरिएको हो । यस सम्मानले प्रहरी कर्मचारीको मनोबल बढाउनुका साथै आगामी दिनमा अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्