बाणगंगा, ०२ मंसिर । कपिलवस्तुको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप उचाइमा पुर्याउने लक्ष्यसहित आयोजना हुन लागेको १७औँ कपिलवस्तु महोत्सवलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट महोत्सव बनाउने आयोजकले उद्घोष गरेको छ । महोत्सवलाई विगतका संस्करणभन्दा फरक, व्यवस्थित र आकर्षक बनाउने योजनासहित कपिलवस्तु उद्योग वाणिज्य संघले तयारीलाई तीव्रता दिएको छ ।
आगामी मंसिर १७ गतेदेखि २९ गतेसम्म बाणगंगा नगरपालिका–स्थित बुद्ध रंगशालामा सञ्चालन हुने महोत्सवलाई ऐतिहासिक बनाउने लक्ष्यसहित भौतिक संरचना निर्माणदेखि व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ । महोत्सव सुरु हुनुभन्दा दुई दिन अगावै सम्पूर्ण तयारी पूरा गर्ने गरी काम भइरहेको आयोजकले जनाएको छ ।
महोत्सव नजिकिँदै गर्दा तयारीले गति लिएको र प्रदेशकै उत्कृष्ट महोत्सव बनाउने योजनासहित आफूहरू जुटिरहेको कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव निर्देशक हुमनाथ पौडेलले बताए ।
उनका अनुसार यसपटकको महोत्सव केवल व्यापारिक गतिविधिमा सीमित हुने छैन । जिल्लाको मौलिक संस्कृति, पर्यटन, कला, प्रतिभा र आर्थिक सम्भावनालाई एउटै थलोमा प्रस्तुत गर्ने गरी कार्यक्रमको स्वरूप तयार पारिएको छ ।
‘जिल्लाको पहिचान र विकासमा १७औँ कपिलवस्तु महोत्सव महत्वपूर्ण सावित हुनेछ। हामी यसलाई नयाँ उत्साह र जोसका साथ सम्पन्न गर्ने तयारीमा छौँ,’ पौडेलले भने, ‘ऐतिहासिक र देशका अन्य महोत्सवभन्दा भिन्न बनाउने गरी काम भइरहेको छ ।’
महोत्सवलाई थप आकर्षक बनाउन यसपटक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ । विभिन्न जातजातिका परम्परागत भेषभूषा, कला र संस्कृति झल्किने गतिविधिसँगै १५औँ कपिलवस्तु डान्स आइडल र दोस्रो मम्मी आइडल आयोजना गरिने पौडेलले जानकारी दिए । साथै, नेपालकै सबैभन्दा ठूलो स्टेज निर्माण गर्ने आयोजकको दाबी छ ।
महोत्सव स्थल बुद्ध रंगशालालाई व्यवस्थित र आकर्षक बनाउने काम अहिले धमाधम भइरहेको छ । दर्शकको सहज आवागमन, मनोरञ्जन, व्यापारिक स्टल तथा कार्यक्रम सञ्चालनलाई व्यवस्थित गर्ने गरी आवश्यक पूर्वाधार र व्यवस्थापनका काम अघि बढाइएको छ ।
यसैबीच, महोत्सवलाई सफल बनाउन संघले स्थानीय तह, विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्था र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल र समन्वयलाई समेत तीव्र बनाएको छ । महोत्सवलाई जिल्लाको साझा उत्सवका रूपमा स्थापित गर्दै स्थानीय उत्पादन, व्यापार व्यवसाय र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने आयोजकको अपेक्षा छ ।







प्रतिक्रिया दिनुहोस्