राप्ती गाउंपालिकाको देउखुरी सहकारीमा ५ करोड हिनामिना, ४ जना कर्मचारी पुर्पक्षका लागि थुनामा


appharu

28 June, 2021 10:06 am मा प्रकाशित

पालिका पत्र/ राप्ती ।
दाङ जिल्ला अदालतले सहकारीको पाँच करोड बढी रकम हिनामिना अभियोगमा सहकारीका चार जना कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

अदालतले आइतबार थुन छेक आदेशमा रकम हिनामिना अभियोगमा पक्राउ परेका ४ जना कर्मचारीलाई थुनामा पठाएको हो भने अदालतले एक महिलालाई भने साधारणमा तारेखमा छोड्न आदेश पनि दिएको छ। केही दिन अघि मात्रै सहकारीका सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको भन्दै कर्मचारी र पदाधिकारीविरूद्ध अदालतमा मुद्दा दायर गरेका थिए।

राप्ती गाउँपालिका वडा नम्बर ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सह-लेखापाल २९ वर्षीय विक्रम राना, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको अदालतका सूचना अधिकारी तथा श्रेस्तेदार धनसिंह गिरीले बताए।

सह–लेखापाल रानाकी २७ वर्षीया श्रीमती उषा राना थापालाई साधारण तारेखमा छोड्न आदेश दिए अनुसार रिहा गरिएको उनले बताए ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको एकल इजलासले सो आदेश जारी गरेको अदालतका सूचना अधिकारी तथा श्रेस्तेदार गिरीले बताए।

गिरीले फरार सूचीमा रहेका भनिएका अन्य २० जनाविरूद्ध तत्कालै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्ने जानकारी पनि दिए।

अब एक दुई दिनमै सबै प्रतिवादीविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गर्ने भन्दै त्यसपछि प्रहरीले पक्राउ गरेर अदालतमा पेश गर्ने उनले बताए ।

सहकारीको रकम हिनामिना गरेको भन्दै सदस्यहरूले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ ।

अध्यक्ष सुवेदीको फरार सूचीमा नाम राखिएको भए पनि उनी नियमित आफ्नो कार्यालयमा उपस्थित हुँदै आएका छन्।
गाउँपालिकाका अध्यक्ष सुवेदीले विज्ञप्ति जारी गरेर आफू संस्थापक र जिम्मेवार पदमा रहेर विगतमा काम गरेको स्विकार गर्दै २०७४ सालपछि संस्थाको कुनैपनि पदमा नरहेको उल्लेख गरेका छन ।

प्रतिक्रिया दिनुहोस्