१५ औँ कपिलवस्तु महोत्सवमा बालुवामा साइक्लिङ च्यालेञ्जको तयारी


पालिका पत्र

28 November, 2024 9:06 am मा प्रकाशित


बाणगंगा, १३ मंसिर ।

कपिलवस्तुमा आगामी १५ औँ महोत्सवको नयाँ आकर्षणको रूपमा बालुवामा साइक्लिङ च्यालेञ्ज हुने भएको छ। उक्त प्रतियोगिता आयोजना गर्ने जिम्मा बाणगंगा राइडर्स क्लव कपिलवस्तुले लिएको छ। क्लबले प्रस्ताव गरेपछि कपिलवस्तु उद्योग वाणिज्य संघले यो च्यालेञ्जलाई अनुमोदन गरेको हो।

प्रतियोगिता महोत्सव स्थल बुद्ध रंगशालाको एक भागमा सम्पन्न हुनेछ। क्लबका सदस्य रविन्द्र पौडेललाई संयोजक तोकिएको जानकारी क्लबका सचिव रामचन्द्र बेलबासेले दिएका छन्। प्रतियोगितामा करिब ३ सय सहभागीको लक्ष्य राखिएको छ भने १ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ।

बालुवाको निश्चित दूरी तोकी सबैभन्दा छिटो समयमै दूरी पार गर्ने प्रतियोगीहरूलाई प्रथम, द्वितीय, र तृतीय स्थान प्रदान गरिनेछ। यदि दूरी पूरा गर्न नसके, धेरै बालुवा पार गर्ने समयका आधारमा विजेता घोषणा गरिनेछ।

प्रथम पुरस्कार स्वरूप ब्राण्डेड गेयर साइकल, दोस्रो र तेस्रो स्थानलाई नगद, प्रमाणपत्र, र मेडल प्रदान गरिनेछ। सहभागी सबैलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइनेछ। प्रतियोगिता सम्बन्धी मिति र नियमावली पछि सार्वजनिक गरिने क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटाले जानकारी दिए।

बाणगंगा राइडर्सले सामाजिक तथा मानवीय गतिविधिमा निरन्तर संलग्न रहँदै आएको उल्लेख गर्दै, यो कार्यक्रम फागुन महिनामा आयोजना हुने कोरा साइक्लिङ च्यालेञ्जको तयारीको रूपमा गरिन लागेको क्लबले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्