क्रिप्टो कारोबार गर्ने ३ जना भारतीय पक्राउ


पालिका पत्र

31 January, 2025 8:54 pm मा प्रकाशित

कपिलवस्तु, माघ १८ । कपिलवस्तु प्रहरीले क्रिप्टो तथा बिटक्वाइन कारोबार गरिरहेका ३ जना भारतीयलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा शिवराज १ शिवपुर स्थित हाइवे होटलबाट विहिबार दिउसो उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत राजस्थान जयपुर बस्ने ३३ बर्षका विजेन्द्र कुमार सैनी, राजस्थान दोसा बान्ता कुई बस्ने २२ बर्षका मोनु सैनी तथा बर्ष ३५ का नन्दलाल सैनी रहेको प्रहरी निरिक्षक सुजन विक्रम शाहले जानकारी दिए ।

उनीहरुबाट २४ थान स्मार्ट फोन, १ थान ल्यापटप, इन्टरनेट प्रयोग गर्ने डिभाइस तथा सिमकार्डहरु बरामद भएको छ । पक्राउ परेका भारतीयहरुले एमइएससी एप्लिकेशनबाट बिट क्वाइन तथा अन्य डिजिटल मुद्राहरुको कारोबार गर्दै आइरहेका थिए ।

पक्राउ परेका ३ जना भारतीयहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २६२ को क बमोजिम प्रचलित कानूनले (राष्ट्रबैंक) ले तोकेको बाहेक अन्य मुद्रा प्रचलनमा ल्याउन नपाइने व्यवस्था अनुसारको मुद्धा चलाइएने बताइएको छ ।

उनीहरुलाई शुक्रबार नै जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको र उक्त अवैध कारोबारमा संलग्न अन्य संजाल र व्यक्तिहरुको समेत खोजी तथा घटना सम्बन्धी अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली युवाहरु लक्षित गरि उनीहरुले उक्त कारोबार गर्न नेपाल आएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्