अनुमति एक, काम अर्को: बाणगंगामा अवैध क्रसर उद्योगको जालो


पालिका पत्र

11 September, 2026 12:29 am मा प्रकाशित

कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रभित्र पर्ने ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बाणगंगा खोलामा पछिल्लो समय क्रसर उद्योगहरूको मनपरी बढ्दै गएको छ । खोलाको दोहन गर्दै रातारात धनी बन्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता उद्योगहरूले नीति, नियम र कानुनलाई खुला रूपमा चुनौती दिएका छन् ।

बाणगंगा खोलाको आसपास झण्डै एक दर्जन क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेका छन् । जबकि प्रचलित मापदण्डअनुसार नदी किनार, वन क्षेत्र र बस्ती नजिक यस्ता उद्योग सञ्चालन गर्न पाइँदैन । तर, यहाँ भने नियमविपरीत उद्योग सञ्चालन हुँदा सम्बन्धित निकायको प्रभावकारी निगरानी देखिएको छैन ।

स्थानीयवासीका अनुसार वर्षेनी खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। यस विषयमा पटक–पटक आवाज उठे पनि नियामक निकाय मौन बसेको आरोप छ । जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले समेत अनुगमन नगरेको भन्दै स्थानीयहरू आक्रोशित छन् ।

सरकारले बेला–बेलामा अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिए पनि त्यसको कार्यान्वयन कमजोर देखिएको छ । पछिल्लो समय सरकारले कडाइ गर्ने निर्णय गरे पनि बाणगंगाका क्रसर उद्योगीहरूले त्यसलाई बेवास्ता गरिरहेका छन् ।

बाणगंगा–८ क्षेत्रमा सञ्चालित सिद्धार्थ एग्रीग्रेट वासिङ उद्योगले बालुवा प्रशोधनको अनुमति लिए पनि व्यवहारमा क्रसर उद्योगकै रूपमा सञ्चालन भइरहेको पाइएको छ । ठूला ठेकेदार र राजनीतिक पहुँचका आधारमा उद्योग सञ्चालन भइरहेको आरोपसमेत लागेको छ ।

क्रसर उद्योग सञ्चालनका लागि कडा मापदण्ड भए पनि ती पूरा नगरी घुमाउरो तरिकाबाट अनुमति लिइएको देखिन्छ । स्रोतका अनुसार बालुवा प्रशोधनको नाममा दिइएको अनुमति प्रयोग गरी ठूलो क्षमताका मेसिनमार्फत ढुंगा क्रसर गर्ने काम भइरहेको छ, जुन स्पष्ट रूपमा मापदण्डविपरीत हो ।

यसैगरी, ओम एकता बालुवा प्रशोधन उद्योगले पनि समान प्रकृतिको काम गरिरहेको स्थानीयको दाबी छ । तर, उद्योग सञ्चालकहरूले आफूहरू कानुनी रूपमा सञ्चालनमा रहेको जिकिर गर्दै आएका छन् ।

अवैध उत्खननका कारण बाणगंगा खोलाको प्राकृतिक स्वरूप नै बिग्रँदै गएको छ । खोलामा नदीजन्य पदार्थ थुपारेर पहाड जस्तै बनाइएको छ भने रातको समयमा मिलेमतोमा उत्खनन हुने गरेको आरोप छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारीले मन्त्रालयबाट पत्र आएको र सम्बन्धित निकायमा पठाइएको बताएका छन् भने जिल्ला समन्वय समितिले अनुसन्धान भइरहेको जनाएको छ । तर, अहिलेसम्म ठोस कारबाही नहुँदा क्रसर उद्योगीहरूको मनोबल झन् बढेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्