कपिलवस्तु कारागारको २ नम्बर ब्लकमा कैदीबन्दीको नियन्त्रण, तीन नाइके बन्धक


पालिका पत्र

30 June, 2026 6:10 am मा प्रकाशित

असार १६, तौलिहवा ।

कपिलवस्तु कारागारको २ नम्बर ब्लकमा रहेका कैदीबन्दीहरूले सोमबार दिउँसोदेखि आन्दोलन गर्दै ब्लकको भित्री भाग आफ्नो नियन्त्रणमा लिएका छन्। आन्दोलनका क्रममा उनीहरूले ब्लकका मूल नाइके केयरसिंह खत्री तथा सहनाइके विजय खत्री र अर्जुन थारुलाई बन्धक बनाएको बताएका छन्।

२ नम्बर ब्लकका कैदीबन्दी नारायण वलीका अनुसार कारागार प्रशासनको ज्यादती, सेवा–सुविधामा अनियमितता तथा कैदीमाथि हुने दुर्व्यवहारको विरोधस्वरूप आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।

आन्दोलनरत कैदीबन्दीहरूले चौकीदार दामोदर थारु तथा मूल नाइके नेतृत्वको समूहले शनिबार चार जना कैदीबन्दीमाथि निर्घात कुटपिट गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार सरकारले तोकेको राशन उपलब्ध नगरिएको, कारागारभित्र सञ्चालित क्यान्टिनमा चर्को मूल्य असुलिएको तथा विरोध गर्ने कैदीमाथि दुव्र्यवहार हुने गरेको छ।

कारागार प्रशासन स्रोतका अनुसार मोहम्मद हनिफ मुसलमान, सुजन विक, निरज कार्की र हबिबुर रहमानलाई ठूलो आवाजमा गीत बजाएर बोरा भित्र राखी मुखमा कपडा हालेर कुटपिट गरिएको आरोप छ। उक्त घटनापछि आइतबारदेखि २ नम्बर ब्लकमा कैदीबन्दीबीच विवाद चर्किएको थियो।

विवाद बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले सतर्कता अपनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गरिरहेको छ। कैदीबन्दीहरूले १८ बुँदे माग अघि सार्दै आन्तरिक कारागार प्रशासनमा परिवर्तन, जिम्मेवार व्यक्तिलाई हटाउनुपर्ने तथा राज्यले उपलब्ध गराउँदै आएको सेवा–सुविधामा कटौती नगर्नुपर्ने माग गरेका छन्।

यता, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भने कैदीबन्दीबीच सामान्य विवाद भएको र त्यसको समाधानका लागि आवश्यक पहल भइरहेको जनाएको छ। प्रहरीका अनुसार घटनामा हालसम्म कुनै मानवीय क्षति वा घाइते भएको जानकारी प्राप्त भएको छैन।

कपिलवस्तु कारागारका दुई ब्लकमा गरी करिब ४ सय कैदीबन्दी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्