रुपन्देहीमा नेपाल तरुण दलको संगठन अध्यावधिक अभियान सुरु


पालिका पत्र

2 July, 2026 8:53 am मा प्रकाशित

कपिलवस्तु, असार १८। नेपाल तरुण दल रुपन्देहीले जिल्लाका १६ वटै स्थानीय तहमा संगठन अध्यावधिक (अपडेट) अभियान सुरु गरेको छ।

नेपाल तरुण दल केन्द्रीय समितिले खटाएका केन्द्रीय प्रतिनिधिहरू सगुन श्रेष्ठ, गणेश बहादुर सिंह ठकुरी र विनोद तामाङको उपस्थितिमा अभियानको औपचारिक शुभारम्भ गरिएको हो। संगठनलाई थप सुदृढ, व्यवस्थित र क्रियाशील बनाउने उद्देश्यका साथ केन्द्रीय समितिले तीन प्रतिनिधिलाई रुपन्देहीमा खटाएको जनाएको छ।

अभियानको प्रारम्भिक छलफल नेपाली कांग्रेसको पार्टी कार्यालय, भैरहवामा सम्पन्न भएको थियो। छलफलमा जिल्लाका १६ वटै पालिकाबाट नेपाल तरुण दलका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

छलफलका क्रममा संगठन विस्तार, सदस्यता अध्यावधिक, युवा परिचालन, आगामी संगठनात्मक कार्यक्रम तथा पार्टीको नीति र निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा विस्तृत छलफल भएको सहभागीहरूले बताएका छन्।

केन्द्रीय प्रतिनिधिहरूले संगठनलाई गाउँदेखि नगरसम्म थप सशक्त बनाउँदै युवालाई पार्टीप्रति आकर्षित गर्ने, नयाँ सदस्यता विस्तार गर्ने तथा सक्रिय सदस्यहरूको विवरण अध्यावधिक गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्।

नेपाल तरुण दल रुपन्देहीले अभियानअन्तर्गत जिल्लाका सबै १६ पालिकामा क्रमशः पुगेर संगठनको अवस्था समीक्षा, सदस्यता अध्यावधिक तथा स्थानीय नेतृत्वसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्