वाणगंगा–९ को एकीकृत घुम्ती शिविरबाट ९०४ जना लाभान्वित


पालिका पत्र

8 July, 2026 6:16 am मा प्रकाशित

असार २४, कपिलवस्तु ।

वाणगंगा नगरपालिका–९ भर्तापुरमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट ९०४ जना सेवाग्राही लाभान्वित भएका छन्। स्थानीय नागरिकलाई घरदैलोमै सहज र प्रभावकारी सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।

शिविरमा ज्येष्ठ नागरिक परिचयपत्र नवीकरण, व्यवसाय दर्ता तथा नवीकरण, स्वास्थ्य परीक्षण, आयुर्वेद सेवा, कृषि तथा पशु सेवा, सुरक्षित आप्रवासनसम्बन्धी परामर्शलगायत विभिन्न सेवा प्रदान गरिएको थियो। स्वास्थ्य शाखाबाट १३७, आयुर्वेदबाट २५४, कृषि शाखाबाट २५२ तथा पशु विकास शाखाबाट १३६ जनाले सेवा लिएका थिए। सुरक्षित आप्रवासन शाखाबाट ९२ जनाले परामर्श प्राप्त गरेका थिए।

नगर प्रमुख चक्रपाणि अर्यालले दुर्गम वडाका नागरिकलाई लक्षित गर्दै प्रत्येक वर्ष एकीकृत घुम्ती शिविर सञ्चालन गरिँदै आएको बताए। प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले सेवाप्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन कर्मचारीलाई निर्देशन दिएका थिए।

वडा नं. ९ का अध्यक्ष कमल पौडेलले स्थानीयको उत्साहजनक सहभागिताले यस्ता कार्यक्रमको आवश्यकता पुष्टि भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिइने बताए।

वाणगंगा नगरपालिकाको आयोजनामा सम्पन्न शिविरमा कृषि, पशु, स्वास्थ्य, आयुर्वेद, राजस्व, महिला विकास, योजना, भूमि, सुरक्षित आप्रवासन तथा प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत विभिन्न शाखाबाट सेवा प्रदान गरिएको थियो। स्थानीयवासीले आफ्नै वडामा एकै स्थानबाट विभिन्न सरकारी सेवा पाउँदा खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्