कपिलवस्तु, असार २७ । कपिलवस्तुको वाणगंगा खोलाको बीचभागमा फसेका सात किशोरको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् ।शनिबार दिउँसो करिब २ः५० बजे वाणगंगा नगरपालिका–८ बलापुरस्थित वाणगंगा खोलामा पौडी खेल्न गएका उनीहरू अचानक पानीको बहाव बढेपछि खोलाको बीचभागमै फसेका थिए ।
घटनाबारे सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली तत्काल घटनास्थल पुगेर १६ देखि १८ वर्ष उमेर समूहका सातै जनाको सुरक्षित उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवं डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
उद्धार गरिएका सबै किशोर वाणगंगा नगरपालिका क्षेत्रका स्थानीय बासिन्दा रहेको प्रहरीले जनाएको छ । यसैबीच, वर्षायाममा नदी तथा खोलामा पानीको बहाव एकाएक बढ्न सक्ने भएकाले अनावश्यक रूपमा नदी–खोलामा पौडी खेल्न वा प्रवेश नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।



