सीमा सुरक्षा र तस्करी नियन्त्रणमा शून्य सहनशीलता अपनाउन एआईजी पोखरेलको निर्देशन


पालिका पत्र

13 July, 2026 6:48 am मा प्रकाशित

असार २९ , कपिलवस्तु ।

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) अञ्जनीकुमार पोखरेलले अन्तर्राष्ट्रिय सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा राजस्व चुहावट रोक्न सरकारले अवलम्बन गरेको ‘शून्य सहनशीलता’ नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

लुम्बिनी प्रदेशका सीमा नाकाहरूको स्थलगत अनुगमनका क्रममा आइतबार कपिलवस्तुको कृष्णनगर, खुनुवा र चाकरचौडा भन्सार क्षेत्रको निरीक्षण गर्दै एआईजी पोखरेलले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता, अनुशासन र जिम्मेवारीका साथ टुटिरहित सुरक्षा व्यवस्था कायम गर्न आग्रह गरे।

अनुगमनका क्रममा उनले स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै सीमा सुरक्षा, तस्करी नियन्त्रण र राजस्व संरक्षणका विषयमा सुझावसमेत लिएका थिए। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि स्थानीय समुदाय र सशस्त्र प्रहरीबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

वर्षायाम सुरु भइसकेकाले सम्भावित बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै खबर प्राप्त भएको ६ मिनेटभित्र आवश्यक उद्धार तथा सुरक्षा सामग्रीसहित टोली परिचालन गर्न सक्ने गरी २४सै घण्टा तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिइएको छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थापन, तस्करी नियन्त्रण तथा कार्यसम्पादनलाई थप प्रभावकारी र पारदर्शी बनाउन देशभर अनुगमन टोली परिचालन गरिरहेको जनाएको छ। सोही क्रममा कपिलवस्तुस्थित नम्बर २८ गण हेडक्वार्टर तथा मातहतका युनिटहरूको समेत निरीक्षण गरिएको हो।

अनुगमन भ्रमणमा नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय, रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक अधिकारीको पनि सहभागिता रहेको थियो। कपिलवस्तु निरीक्षणपछि टोलीले रुपन्देही र नवलपरासीका सीमा नाकाहरूको समेत अनुगमन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्