बिहान ८ः४५ बजेसम्म श्रीमतीसँग फोनमा कुरा गरेका आशिष त्यसपछि कहाँ गए ?


पालिका पत्र

1 September, 2026 8:40 am मा प्रकाशित

महाराजगन्ज, १६ भदौ । रसुवाको मैलुङ प्रहरी चौकीमा कार्यरत कपिलवस्तुका २३ वर्षीय प्रहरी जवान आशिष गडरिया भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन छन् । बाढी आएको दिन बिहानसम्म परिवारसँग सम्पर्कमा रहेका आशिष त्यसपछि एकाएक सम्पर्कविहीन भएपछि कपिलवस्तुस्थित उनका वृद्ध आमाबुवा छोराको खबरको प्रतीक्षामा छन् ।

महाराजगन्ज नगरपालिका–४, बरैपुर निवासी आशिष २०८२ वैशाखमा प्रहरी जवान पदमा नियुक्त भएका थिए । नियुक्तिपछि उनको पहिलो पदस्थापन रसुवाको मैलुङ प्रहरी चौकीमा भएको थियो । सेवा प्रवेश गरेको केही समयमै प्राकृतिक विपत्तिको चपेटामा परेपछि परिवार अहिले उनको अवस्थाबारे अनिश्चिततामा छ ।

चार छोरीपछि जन्मिएका आशिष परिवारका एक मात्र छोरा हुन् । छोरीहरू विवाह गरेर आ–आफ्नो घर गएपछि वृद्ध आमाबुवा खेदु र निर्मलाका लागि आशिष नै बुढेसकालको मुख्य सहारा बनेका थिए । जागिरे छोराको भविष्यलाई लिएर खुसी रहेका उनीहरू अहिले भने छोराको अवस्थाबारे कुनै जानकारी नआएपछि गहिरो चिन्तामा छन् ।

परिवारका अनुसार बाढी आएको दिन बिहान करिब ८ः४५ बजेसम्म आशिषले आफ्नी पत्नीसँग फोनमा कुराकानी गरेका थिए । कुराकानी भइरहेकै अवस्थामा अचानक फोन सम्पर्क विच्छेद भयो । त्यसपछि परिवारले पटक–पटक फोन तथा अन्य माध्यमबाट सम्पर्क गर्ने प्रयास गरे पनि आशिषसँग पुनः सम्पर्क हुन सकेको छैन ।

भोटेकोशी क्षेत्रमा भीषण बाढी आएको खबर पाएपछि परिवारले आशिषको अवस्थाबारे बुझ्न निरन्तर प्रयास गरेको थियो । तर, सम्पर्क स्थापित हुन नसकेपछि परिवारमा आशिष कहाँ छन्, उनको अवस्था कस्तो छ भन्ने प्रश्न अनुत्तरित छ ।

आशिषकी आमा निर्मला छोराको खबर पाउने आशामा दिनरात बाटो हेरिरहनुभएको छ । एक्लो छोरासँग सम्पर्क टुटेपछि उहाँको चिन्ता र पीडा झन् बढेको छ । छोराको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने उहाँको माग छ ।

भावुक हुँदै निर्मलाले भन्नुभयो, “मेरो छोरालाई जसरी भए पनि खोजेर ल्याइदिनुहोस् । छोरीहरू विवाह गरेर आफ्नो घर गइसके । हामी बुढाबुढीको एकमात्र सहारा छोरा थियो । जागिरे थियो, हामी खुसी थियौँ, तर खुसी हराउने भयो कि भन्ने चिन्ता छ ।”

आशिष गत वैशाखमा मात्रै विवाह गरेका थिए। वैवाहिक जीवन सुरु गरेको केही महिनामै बाढीपछि उनी सम्पर्कविहीन भएपछि श्रीमतीसहित परिवारका सदस्यहरू उनको सकुशल अवस्थाको आशामा छन् ।

भीषण बाढीपछि आशिषसहित मैलुङ क्षेत्रका सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरूको अवस्थाबारे परिवार र स्थानीय तहमा चासो बढेको छ । आशिषको खोजी तथा उद्धारमा भइरहेको प्रगतिबारे परिवारलाई नियमित जानकारी गराउनुपर्ने मागसमेत उठेको छ ।

एकातर्फ बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ भने अर्कोतर्फ आशिषको परिवारजस्तै आफ्ना आफन्तको अवस्थाबारे जानकारी नपाएका परिवारहरू अनिश्चित प्रतीक्षामा छन् । आशिष सकुशल भेटिने आशामा उनका वृद्ध आमाबुवा अहिले पनि बाटो हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्