कपिलवस्तु ।
नेपाल उद्योग व्यापार महासंघको पाँचौँ स्थापना दिवसको अवसरमा उद्योग व्यापार संघ कपिलवस्तुले आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै कपिलमुनि वैदिक विद्यापीठ, कपिलधामलाई दैनिक उपभोग्य खाद्यान्न तथा आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष टोपनारायण बेल्वासेले महासंघको स्थापना दिवसलाई औपचारिक कार्यक्रममै सीमित नराखी समाजप्रति उत्तरदायी हुने उद्देश्यले सहयोग प्रदान गरिएको बताए। उनले उद्योग व्यापार संघ कपिलवस्तु स्थापना कालदेखि नै व्यावसायिक हितका साथै सामाजिक सेवामा सक्रिय रहँदै आएको र जिल्लाको अग्रणी व्यावसायिक तथा सामाजिक संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको उल्लेख गरे।
कार्यक्रममा कपिलमुनि वैदिक विद्यापीठ, कपिलधामका अध्यक्ष शंकर आचार्यलाई खाद्यान्न तथा अन्य दैनिक आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बेल्वासेले व्यवसायीको दायित्व व्यापारमा मात्र सीमित नहुने उल्लेख गर्दै समाजप्रति उत्तरदायित्व निर्वाह गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए। उनले समाज र देशका लागि योगदान गर्ने उद्देश्यले व्यवसायीहरू एकताबद्ध भएर सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा यस्ता गतिविधिलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
सहयोग ग्रहण गर्दै कपिलमुनि वैदिक विद्यापीठका अध्यक्ष शंकर आचार्यले उद्योग व्यापार संघ कपिलवस्तुप्रति आभार व्यक्त गरे। उनले धार्मिक तथा शैक्षिक संस्थाहरूलाई समुदायको निरन्तर साथ र सहयोग आवश्यक पर्ने उल्लेख गर्दै स्थापना दिवसको अवसरमा गरिएको सहयोगले सामाजिक सहकार्य, मानवीय सेवा र परोपकारको सकारात्मक सन्देश प्रवाह गरेको बताए।
महासंघको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संघले नेपाल उद्योग व्यापार महासंघप्रति शुभकामना व्यक्त गर्नुका साथै सहयोगी, शुभेच्छुक तथा सम्पूर्ण सदस्य व्यवसायीहरूप्रति आभार प्रकट गरेको छ। साथै, आगामी दिनमा पनि व्यावसायिक विकाससँगै शिक्षा, सामाजिक सेवा र मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



