ग्यास अभावमा उपभोक्ताको चुलो निभ्न नदिने श्रृंगीघाट सामुदायिक वनको प्रतिबद्धता


पालिका पत्र

9 August, 2026 7:40 am मा प्रकाशित

कपिलवस्तु, २२ साउन । देशभर खाना पकाउने ग्यासको अभाव देखिएको वर्तमान अवस्थामा कपिलवस्तुको बाणगंगास्थित श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले आफ्ना आन्तरिक उपभोक्ताका लागि दाउरा वितरण खुला गरेको छ ।

ग्यास अभावका कारण खाना पकाउन समस्या हुन थालेपछि उपभोक्तालाई सहजता प्रदान गर्ने उद्देश्यले दाउरा उपलब्ध गराउने निर्णय गरिएको सामुदायिक वनले जनाएको छ ।

श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शुशिल सिंह ठकुरीले असहज परिस्थितिमा उपभोक्ताको घरको चुलो निभ्न नदिनु समूहको पहिलो प्राथमिकता रहेको बताए । ‘उपभोक्ताको चुलो निभ्न दिँदैनौँ, आवश्यकता पर्दा साथ छोड्दैनौँ,’ अध्यक्ष ठकुरीले भने, ‘सामुदायिक वन वन संरक्षण गर्ने संस्था मात्र होइन, आवश्यकता पर्दा आफ्ना उपभोक्ताको सुख–दुःखमा साथ दिने साझा संस्था पनि हो ।’

ग्यासको अभावका कारण खाना पकाउन समस्या भएका आन्तरिक उपभोक्ताले सामुदायिक वन समूहसँग सम्पर्क गरी आवश्यकताअनुसार दाउरा उपलब्ध गराउन सक्ने जनाइएको छ ।

श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै उपलब्ध वन स्रोतको दिगो र आवश्यकताअनुसार सदुपयोग गर्दै उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ । सामुदायिक वनले ‘वन जोगाऔँ, स्रोतको सदुपयोग गरौँ’ भन्ने सन्देशसहित संकटको समयमा उपभोक्ताको साथमा रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्