कपिलवस्तु । बाणगङ्गामा साहित्यिक कार्यक्रमको परम्परागत शैलीभन्दा फरक ढाँचामा ‘कविता कन्सर्ट’ आयोजना हुने भएको छ। कविता वाचनलाई मनोरञ्जन र प्रत्यक्ष प्रस्तुतीकरणसँग जोडेर नयाँ पुस्तासहित स्थानीय साहित्यप्रेमीलाई आकर्षित गर्ने उद्देश्यले बाणगङ्गा बैंकर्स क्लबले कार्यक्रम गर्न लागेको हो ।
आगामी श्रावण ३१ गते आइतबार पिस हिमालय रिसोर्टमा हुने कार्यक्रममा चर्चित कवि नवराज पराजुलीले आफ्ना लोकप्रिय तथा चर्चित कविता प्रस्तुत गर्नेछन् । दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रममा कवितालाई केवल सुन्नेभन्दा पनि प्रस्तुति र वातावरणमार्फत अनुभूति गर्ने अवसर सिर्जना गर्ने आयोजकको तयारी छ ।
सामान्य साहित्यिक कार्यक्रममा प्रायः कविता वाचन र मन्तव्यमा सीमित हुने प्रवृत्तिभन्दा फरक रूपमा कार्यक्रमलाई ‘कन्सर्ट’को स्वरूप दिन खोजिएको आयोजकको भनाइ छ । कविता, प्रस्तुति र मनोरञ्जनलाई एउटै मञ्चमा जोडेर दर्शकसँग प्रत्यक्ष भावनात्मक सम्बन्ध स्थापित गर्ने प्रयासका रूपमा कार्यक्रमलाई अघि बढाइएको बाणगङ्गा बैंकर्स क्लबका सदस्य भिमलाल भट्टराई (समिर शायर)ले बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समय साहित्यिक गतिविधिमा युवापुस्ताको सहभागिता बढाउन नयाँ शैली र प्रस्तुतीकरण आवश्यक देखिएकाले कार्यक्रमको अवधारणा अघि सारिएको हो। “कविता केवल पढ्ने वा सुन्ने विषय मात्र होइन, त्यसलाई अनुभूति गर्न सकिन्छ भन्ने वातावरण बनाउन खोजेका छौँ,” भट्टराईले भन्नुभयो ।
कार्यक्रमका लागि प्रवेश शुल्क ५ सय रुपैयाँ निर्धारण गरिएको छ । आयोजकले कविता तथा साहित्यमा रुचि राख्ने व्यक्ति, युवा पुस्ता र स्थानीय साहित्यप्रेमीलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
बाणगङ्गामा पछिल्लो समय विभिन्न सामाजिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधि भइरहे पनि साहित्यलाई केन्द्रमा राखेर ठूलो प्रस्तुतीकरणसहितको कार्यक्रम भने तुलनात्मक रूपमा कम हुँदै आएका छन् । यस्तो अवस्थामा चर्चित कविको प्रत्यक्ष प्रस्तुति रहने ‘कविता कन्सर्ट’ले स्थानीय साहित्यिक गतिविधिलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ ।
कार्यक्रमले दर्शकको सहभागिता र प्रतिक्रिया कस्तो पाउँछ भन्ने कुराले बाणगङ्गामा आगामी दिनमा यस्ता साहित्यिक कार्यक्रमको निरन्तरताका लागि समेत प्रभाव पार्न सक्ने देखिन्छ । आयोजकले भने यसलाई एकदिने कार्यक्रमभन्दा पनि स्थानीयस्तरमा साहित्यप्रतिको रुचि बढाउने प्रयासका रूपमा लिएको जनाएको छ ।



