बाणगंगाको प्रमुख प्रशासकीय अधिकृतमा ईश्वरीप्रसाद पाण्डे, प्रशासनिक कामले गति लिने अपेक्षा
बाणगंगा, २७ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ईश्वरीप्रसाद पाण्डेले सम्हालेका छन्। सोमबारदेखि कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हालेका पाण्डेलाई नगरप्रमुख, उपप्रमुख तथा कर्मचारीहरूले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नगरपालिकामा आयोजित स्वागत कार्यक्रममा नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, नगर प्रवक्ता विष्णुप्रसाद पौडेललगायत कर्मचारीहरूले खादा तथा पुष्पगुच्छासहित पाण्डेलाई स्वागत गरेका थिए ।
नगरपालिकाका सूचना अधिकारी एवं वरिष्ठ प्रशासकीय अधिकृत केशवराज भट्टराईका अनुसार नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे यसअघि राष्ट्रपति कार्यालयमा कार्यरत थिए । यसअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका भक्तिराम मरासिनीको सरुवा भएपछि उक्त पद रिक्त रहेको थियो ।
स्वागत कार्यक्रममा नगरप्रमुख चक्रपाणी अर्यालले नगरको समग्र विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि प्रशासनिक नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताए । उनले नगरपालिकाका कामलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
त्यस्तै, उपप्रमुख रिता कुमारी चौधरीले विकास निर्माणका योजना कार्यान्वयन, सुशासन कायम र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताइन् । उनले नगरपालिकाका कामलाई प्रभावकारी बनाउन सरोकारवाला सबैसँग सहकार्य गर्नुपर्ने धारणा राखिन् ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै नागरिकलाई सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्न प्राथमिकता दिने बताए ।
प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै नगरपालिकाका नियमित प्रशासनिक कामकाज थप व्यवस्थित हुने, प्रक्रियामा रहेका कामले गति लिने तथा विकास निर्माणका योजनाको कार्यान्वयनमा सहजीकरण हुने अपेक्षा गरिएको छ ।

