कपिलवस्तु । विजयादशमी तथा शुभ दीपावलीलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले धार्मिक सहिष्णुता, आपसी सद्भाव र सार्वजनिक शान्ति कायम राख्न जिल्लावासीलाई आग्रह गरेको छ । प्रशासनले धार्मिक तथा सांस्कृतिक गतिविधिका नाममा झैँझगडा, अफवाह र सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि गरे प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको अनुरोधपत्रमा कपिलवस्तु धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधताले सम्पन्न जिल्ला भएकाले यसलाई साझा सम्पत्ति, पहिचान र गौरवका रूपमा स्थापित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ ।
प्रशासनले दुर्गा मूर्ति स्थापना, धार्मिक पूजा, मूर्ति विसर्जनलगायतका कार्यक्रम सञ्चालन गर्दा आपसी सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक सुव्यवस्थालाई प्राथमिकता दिन आग्रह गरेको छ । विशेषगरी मूर्ति विसर्जनका क्रममा हुन सक्ने भीडभाड, विवाद, झैँझगडा, अवाञ्छित घुसपैठ तथा उत्तेजनात्मक गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ ।
त्यस्तै, कुनै पनि धर्म वा संस्कृतिप्रति अपमानजनक व्यवहार नगर्न, धार्मिक आस्थामा चोट पुग्ने अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमार्फत अफवाह र भ्रामक सूचना सम्प्रेषण नगर्न प्रशासनले सचेत गराएको छ । घृणा तथा द्वेष फैलाउने गतिविधि र ध्वनि प्रदूषणमार्फत सार्वजनिक शान्तिमा असर पार्ने कार्यबाट समेत टाढा रहन आग्रह गरिएको छ ।
अनुरोधपत्रमा गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख छ । चाडपर्वलाई शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न नागरिक, धार्मिक अगुवा, सामाजिक संघसंस्था तथा सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको प्रशासनको सन्देश छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले विजयादशमी तथा शुभ दीपावलीको अवसरमा कपिलवस्तुवासीसहित देश–विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेको छ । विविधतामा एकता, परस्पर सम्मान, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई साझा पहिचानका रूपमा स्थापित गर्न पनि कार्यालयले सबैमा अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा हस्ताक्षरित अनुरोधपत्रमा उक्त आग्रह गरिएको हो ।

