बुटवल । चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती तथा अन्य अपराधजन्य घटना नियन्त्रण गर्ने उद्देश्यले बुटवलमा यात्रुको बढी भीड हुने क्षेत्रमा तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षा जाँच गरिएको छ ।
आइतबार इलाका प्रहरी कार्यालय बुटवलको समन्वयमा भैरहवाबाट ल्याइएको तालिम प्राप्त कुकुरमार्फत बुटवल बसपार्क, राजमार्ग चौराहा र गोलपार्क क्षेत्रमा चेकजाँच गरिएको हो ।
चेकजाँचका क्रममा तालिम प्राप्त कुकुरले शङ्का लागेका स्थानमा बसभित्र, सामान राख्ने डिक्की तथा बसको छतसम्म पुगेर जाँच गरेको थियो । दसैँ नजिकिएसँगै यात्रुको चाप बढ्न थालेपछि सम्भावित आपराधिक गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको जनाएको छ ।
चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने र भीडभाडको मौका छोपेर चोरी, डकैतीलगायतका घटना हुन सक्ने भएकाले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तालिम प्राप्त कुकुर परिचालन गरिएको प्रहरीको भनाइ छ ।
यसैबीच, प्रहरीले सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न बस चालकलाई सचेत गराएको छ। यात्रुलाई पनि सिट क्षमताभन्दा बाहिर उभिएर जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गरिएको छ ।
चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले यात्रुको चाप बढी हुने क्षेत्र तथा सार्वजनिक यातायातमा निगरानी बढाएको जनाएको छ ।

