बाणगंगा, ०१ कार्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ का वडा सदस्य विश्वास जिसी नेकपा एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । कपिलवस्तु क्षेत्र न. १ का संघीय सांसद मोहनलाल आचार्य र कपिलवस्तु क्षेत्र न. २ का बिक्रम सिंह थापाले स्वागत गर्दै प्रवेश गराएका हुन् । जिसी गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । एमालेको जिल्ला कमिटी सदस्य तथा जिल्ला कमिटी सल्लाहकारसमेत रहेका जिसीले पार्टी परित्याग गर्ने निर्णय सार्वजनिक गर्दै पार्टीभित्र अपेक्षित सुधार नआएको, गुटबन्दी बढेको तथा आपसी सम्मान र आत्मीयतामा कमी आएको उल्लेख गरेका छन् ।
उनले जेनजी आन्दोलनपछि पार्टी र नेतृत्वमा परिवर्तन आउने अपेक्षा गरे पनि त्यसपछि पार्टीभित्र सुधार आउनुको सट्टा निराशा बढेको बताएका छन् । पार्टीभित्रको गुटबन्दी, आपसी दूरी र विचारको उचित सम्मान हुन नसक्ने अवस्थाले आफूलाई निराश बनाएको उनको भनाइ छ ।
जिसीले आफ्नो राजनीतिक मूल्य, नैतिकता र आत्मसम्मानलाई ध्यानमा राख्दै पार्टीको जिम्मेवारी तथा साधारण सदस्यतासमेत त्याग्ने निर्णय लिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले आफ्नो निर्णयलाई व्यक्तिगत स्वार्थ वा प्रतिशोध नभई राजनीतिक मूल्य–मान्यता र आत्मसम्मानसँग जोडिएको विषयका रूपमा प्रस्तुत गरेका छन् । पार्टीभित्र योगदान र कर्मअनुसारको सम्मान तथा आत्मीयता कायम हुनुपर्ने धारणा राख्दै उनले आफूले राजनीतिक यात्रा परिवर्तन गर्ने निर्णय लिएको बताएका छन् । जिसीको रास्वपा प्रवेशसँगै बाणगंगा–८ को स्थानीय राजनीतिमा नयाँ चर्चा सुरु भएको छ ।


