बुटवलमा बहुतले पार्किङस्थल अध्ययनको प्रक्रिया शुरु


appharu

१५ भाद्र २०७९, बुधबार १९:०८ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवलमा बहुतले पार्किङस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अघि बढेको छ । बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा डीपीआर तयारका लागि सम्झौता भएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबीच सम्झौता भएको हो ।
सम्झौताअनुसार परामर्शदाता कम्पनीले बुटवलस्थित लुम्बिनी बस टर्मिनलको क्षेत्रभित्र बहुतले कार पार्किङका लागि लगानी र डिजाइनको काम गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
बस टर्मिनल क्षेत्रको दक्षिणपट्टिको भागमा बहुतले पार्किङ भवन बनाउनका लागि लागत र डिजाइन तयार भइसकेपछि पुन: निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।
नगरविकास कोषको ९० प्रतिशत लगानी र बुटवल उपमहानगरपालिकाको १० प्रतिशत लगानी हुनेगरी बुटवलमा बहुतले पार्किङ तयार हुने उहाँको भनाई छ ।
परामर्शदाता कम्पनीले ४ महिनाभित्र बहुतले पार्किङको डिजाइन स्टिमेट र टेण्डर डकुमेन्टसमेतको काम गर्ने शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताउनुभयो ।
बुटवलमा बढ्दो शहरीकरणका कारण बढ्दै गएको ट्राफिक व्यवस्थापनका लागि बहुतले पार्किङस्थल उपयोगी हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
उहाँले बुटवलमा बहुतले पार्किङ आवश्यक भएकाले नगर विकास कोष र बुटवल उपमहानगरपालिकाको संयुक्त लगानीमा आधुनिक पार्किङ भवन निर्माण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्