राजु गुरुङको उम्मेदवारी खारेज सदरसंगै रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवारविहीन

१५जनाको अन्तिम नामावली प्रकाशनसंगै पौडेल प्रतिस्पर्धीविहीन जस्तै देखिएकाले उनको जित सुनिश्चित भएको विश्लेषण छ ।


appharu

२६ आश्विन २०७९, बुधबार २२:१३ मा प्रकाशित

पालिकापत्र,बुटवल । रुपन्देही–२ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेजलाई सदर गर्दै निर्वाचन आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ ।

जसमा नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलसहित साना दल र स्वतन्त्र गरी १५ जनाको उम्मेदवारी कायम भएको छ ।
अन्तिम नामावली प्रकाशनसंगै सत्ता गठबन्धन उम्मेदवारविहीन भएपछि पौडेल प्रतिस्पर्धीविहीन जस्तै देखिएकाले उनको जित सुनिश्चित भएको विश्लेषण गर्न थालिएको छ ।
यो क्षेत्रमा अब पौडेलसंग केही साना पार्टी र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनेछन् । जसमा भएको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा,नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी,नेपाल दलित पार्टीका राजु शाही,नेपाली कांग्रेस वीपीकी नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेसनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् । यस्तै रुपसिंह थापा,केशव बस्याल,टोपनारायण पौडेल,तारा घिमरे,तुलसीराम यादव,सुरेन्द्र भारी,प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवार रहेका निर्वाचन अधिकृतको कार्यालय प्रमुख उद्विर नेपालीले जानकारी दिए ।
यो क्षेत्रमा १८ जनाको उम्मेद्वारी दर्ता भएकोमा तीन जना उम्मेदवारमाथि परेको उजुरी छानवीन गर्दा सत्ता गठबन्धनका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका डा. निकोलस भनिने कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले तीनैजनाको उम्मेदवारी खारेज गरेको थियो । कमल भुसालको उम्मेदवारी विरुद्ध स्वतन्त्र उम्मेदवारहरु विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दिएका थिए । उजुरीमाथि छानवीन गर्दा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले भुसालको उम्मेदवारी खारेज भएको हो ।
यस्तै गुरुङ र बस्यालको उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि छानवीन गर्दा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १६ (ज) अनुसार दुबै जना उम्मेदवार हुन अयोग्य भएकाले उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको निर्वाचन कार्यालयले जनाएको छ । गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपुर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ७ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालो सूचिमा राखेको थियो ।
गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रूपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो ।
सत्ता गठबन्धनले भने गुरुङको उम्मेदवारी खारेजीको निर्णय सच्याउन र निर्वाचन अधिकृत उद्विर नेपालीलाई हटाउन माग गर्दै बुधबार जिल्ला निर्वाचन आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । उम्मेदवारी खारेज भएपछि बुधबार गुरुङ र भुसाल सर्वोच्च अदालतमा रिट हाल्न जाने चर्चा भएपनि उनीहरु गएनन् । अन्तिम नामावली र चुनाव चिन्ह समेत वितरण भइसकेकाले अब कानुनी उपचारको बाटो समेत बन्द भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्