५ बर्ष गुमनाम दुर्गा, भोट माग्न झुल्किदा के भन्छन प्यूठानी ?


appharu

३ कार्तिक २०७९, बिहीबार १८:३७ मा प्रकाशित

पालिकापत्र, प्यूठान ।

आफ्नो पार्टी कमजोर हुँदाहुँदै पनि बाम गठवन्धनको बलमा ०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले चुनाव जितेर जनताको प्रतिनिधी बनेर गइन् ।

बाम गठवन्धनभित्रका दल नेकपा एमाले र माओवादी केन्द्रले उनलाई साथ दिए । निर्वाचनको बेला जिल्लामा विकास गर्ने र जिल्लाबासीको परिवर्तन हुने भन्दै पौडेल प्यूठानका गाउँ बस्तीमा पुगेर भोट मागिन् । मतदाताले उनलाई बिश्वास गरे, भोट दिएर जिताए । प्यूठानबाट जित्नु अघि उनी ०७० सालमा समानुपातिक सांसद् थिइन् ।

२०७४ मा नेपाली कांग्रेसका नेता प्रा.डा.गोविन्दराज पोख्रेललाई पराजित गर्दै प्यूठानको प्रतिनिधि बनेर सांसद् छिरेकी थिइन् उनी । सांसद् प्रवेशपछि उनले न प्यूठानबासीको समस्या र बिकासका एजेण्डा उठाईन न चुनावअघि बाँढेका आश्वासन पूरा गर्न चासो दिईन । उनको ५ वर्षे कार्यकाल ‘गफ’ गरेरै बित्यो । यतिसम्म कि ५ वर्षसम्म प्यूठान फर्केर आईनन् उनी ।

दुर्गाको ५ बर्षे कार्यकालमा पनि जनताले केही पनि फरक अनुभूति गर्न पाएनन, पाए त केवल आश्वासन अनि समृद्धिका सपना । पौडेल ५ वर्षसम्म आफुले चुनाव जितेको क्षेत्र प्यूठान फर्किएर नै नआएको जिल्लावासीहरू बताउँछन् । पाँच वर्षसम्म धेरैले उनको अनुहारसमेत देख्न नपाएको गुनासो गरेका छन् ।

०७० पछि कोरोनाको महाविपत्ती आयो, कैयौं दुर्घटना भए धेरै धनजनको क्षति भयो, तर दुर्गा सहानुभूति दिन समेत प्यूठान फर्किनन् । चुनाव जितेपछि जिल्लासँग गुमनाम बनेकी दुर्गा पौडेल अहिले प्यूठानमा फेरी मत माग्न गाउँ छिरेकी छिन ।

उनको पछाडी पहिले बामगठवन्धन थियो अहिले सत्तारुढका पाँच दलीय गठवन्धन छन् । न राजनीतिक पहुँच, न ठूलो पार्टी तर उनलाई विजयी गराउनका लागि प्यूठानका ठूला दलहरु किन उनको पछाडी लागे होलान् ? नागरिकहरु टिप्पणी गर्न थालेका छन् । पौडेल प्यूठानको प्रतिनिधी भएकै कारण जिल्लाको केन्द्रमा पहुँच पुग्न नसकेको जिल्लाबासीको गुनासो छ ।

उनी सम्वद्ध दल राजमोभित्र समेत यसपाली पौडेललाई उम्मेदवारी बनाउन नहुने चर्को आलोचना थियो । तर, मोहनविक्रम सिँहकै पत्नी भएकै कारण उनले पूनः टिकट पाएकी थिइन् । राजमोभित्र भएको आन्तरिक निर्वाचनमा नेता बोम बहादुर केसी एक भोटले उम्मेदवारी हुनबाट बञ्चित भएको स्रोतले बताएको छ ।

गठवन्धनभित्र रहेका राजमो बाहेकका दलका नेता, कार्यकर्ता र मतदाताहरु फेरी दुर्गालाई नै जिताएर पठाउने कुरामा अलमलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्