शान्ति नमुनामा नयाँ विद्यार्थीलाई स्वागत


appharu

२७ कार्तिक २०७९, आईतवार १८:२४ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको छ ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजित कार्यक्रममा यस बर्ष कक्षा ११ मा भर्ना भएका करीव ११ सय विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । उनीहरुलाई कक्षा १२ का करीव ९ सय विद्यार्थीहरुले खादा र टीका लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको सिंगो टिम प्रतिवद्ध रहेको भन्दै विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा कक्षा १२ उत्तीर्ण गरी विभिन्न क्याम्पसमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै प्रथम त्रैमासिक तथा मासिक परीक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्याथीहरुलाई नगद सहित पुरस्कृत गरिएको कक्षा ११ र १२ का संयोजक राजेन्द्र के.सी.ले बताउनुभयो ।
सोही अवसरमा विद्यार्थीहरुले नृत्य, गायन तथा अभिनय कलाका विभिन्न कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
कक्षा १२ का विद्यार्थी आशिष ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नविन गौतम र शोभा घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्