मणिग्राममा ब्यापार मेला शुरु : उद्योगका चापी बैंकलाई बुझाएर आन्दोलन गर्ने उद्योगी व्यवसायीको चेतावनी


appharu

१५ मंसिर २०७९, बिहीबार २२:१२ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा विहीबारदेखि मणिग्राममा दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ शुरु भएको छ । मेलाको उद्घाटनका अवसरमा उद्योगी व्यवसायीहरुले बैंकहरुले मनपरी ब्याज बृद्धि गर्दा उद्योगहरु धरासायी हुने अवस्था आएको भन्दै ब्याज नघटे उद्योगमा तालाबन्दी गरेर बैंकलाई चापी बुझाउने चेतावनी दिएका छन् ।
कार्यक्रममा बोल्ने बक्ताहरुले बैंकहरुले ब्याज नघटाए चरणबद्ध आन्दोलन समेत गरिने उल्लेख गरे । बैंकहरुलाई उद्योगका चापी बुझाएर चरणबद्ध आन्दोलन थालिने उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्योगीले उठाएका जायज मागलाई सरकारले समन्वय गरेर समाधान गर्नुपर्ने उल्लेख गरे । कोभिड १९ र बैंकको ब्याज वृद्धिले उद्योगी ब्यवसायी थलिएको अवस्थामा उनीहरुको समस्या समाधानको लागि नगरपालिकाले सधै साथ दिने बचनबद्धता ब्यक्त गरे । तिलोत्तमामा स्थायी प्रकारको औधोगिक ब्यापार गर्ने स्थल नभएकाले त्यसको ब्यवस्थापनमा नगरपालिकाले आवश्यक पहल गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीले उद्योगीका समस्या समाधान गर्न पटक पटक अर्थमन्त्रालय र सरोकारवालाई ध्यानाकर्षण गराईरहेको बताउदै तत्काल बैंकहरुले ब्याज नघटाए चरणबन्द आन्दोलन थालिने बताए । उद्योगका तालाचापी बैंकलाई बुझाएर आन्दोलन थालिने उनले उद्घोष गरे । सरकारले उद्योगमैत्री नीति ल्याउन नसकेको भन्दै उनले लगानीमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरे । वैंकको चर्को ब्याजले उद्योग ब्यवसाय धरासायी हुुने अवस्था सृजना भएको उनले उल्लेख गरे ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरीले मेला सफल बनाउन तिलोत्तमाबासी सबैको सहयोग आवश्यक रहेको बताइन् । उनले मेला सफल पार्न नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने उल्लेख गरिन् ।
कार्यक्रममा उद्योगी ब्यवसायीहरु गुणनिधि भण्डारी, अनिल ज्ञवाली, हेमलाल न्यौपाने, रोहितराज क्षेत्री लगायतले बोल्दै निर्वाचनका कारण उद्योगीको आन्दोलन स्थगित गरिएको र अबै फेरि चर्को ब्याजबिरुद्ध आन्दोलन थालिने उल्लेख गरे । मेलाले थलिएको अर्थतन्त्रलाई चलाएमान बनाउन सहयोग पुग्ने उनीहरुले धारणा राखे ।
तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका हितराज पन्थी, माओवादी केन्द्रका निर्मल जीसी लगायतले पनि उद्योगीका समस्या समाधानका लागि आफूहरु तयार रहेको उल्लेख गरे ।
तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा चम्बर अफ कमर्श सहआयाजक रहेको महोत्सव मंसिर २६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्