राष्ट्रिय भूमि आयोगले भन्यो : सुकुम्बासीलाई तत्काल नहटाऊ


appharu

१६ मंसिर २०७९, शुक्रबार ११:२८ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउने प्रयास गरेकोमा राष्ट्रिय भूमि आयोगले तत्काल नहटाउन निर्देशन दिएको छ ।
आयोगले शुक्रबार सार्वजनिक सूचनामार्फत काठमाडौंलगायत देशभर रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको हो ।

आयोगले सबै स्थानीय तह र सबै सरकारी तथा गैह्र सरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती हटाउने र उनीहरू असुरिक्षत हुने गरी कुनै पनि काम गर्न भनेको छ ।

राष्ट्रिय भूमि आयोग र स्थानीय तहहरूबीच कार्य सहमति पत्रमा हस्ताक्षर भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नका लागि लगत संकलन र विगतका आयोग र समितिहरूका बाँकी काम सम्पन्न गर्न ३५ दिने सूचना प्रकाशित भएको थियो । तर निर्वाचन आयोगको निर्देशनअनुसार गत भदौ ३१ बाट यो काम स्थगन भएको थियो । आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेपछि भूमि आयोगले आफ्नो काम अघि बढाउने उल्लेख छ । त्यतिञ्जेल सुकुम्बासी बस्ती नहटाउन आयोगले सूचना जारी गरेको हो ।

सुकुम्बासी बस्ती हटाउन डोजरसहित पुगेको महानगरको टोली र बस्तीका बासिन्दाबीच झडप भएको थियो । झडपकका क्रममा महानगर सुरक्षा बल र सुकुम्बासी बस्तीका केही मानिस घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्