१५औं औद्योगिक प्रदर्शनीमा राष्ट्रपति र उद्योग संघका अध्यक्षले गरे यस्तो भाषण (पुर्णपाठसहित)


appharu

७ पुष २०७९, बिहीबार २२:१५ मा प्रकाशित

पालिकापत्र,बुटवल ।

राष्ट्रपति विद्यादेवी भण्डारी :

रुपन्देही उद्योग संघ र लुम्बिनी प्रदेश उद्योग परिसंघद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस ‘१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी एवम् कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९’ को समुद्‍घाटन समारोहमा सहभागी हुने अवसर पाएकोमा मलाई खुसी लागेको छ । नेपालकै अग्रणी औद्योगिक केन्द्रका रूपमा योगदान गरिरहेको बुटवल–भैरहवा क्षेत्रले नवीन प्रविधिको उपयोग, कृषि तथा पर्यटन समेतलाई केन्द्रमा राखेर भव्य औद्योगिक प्रदर्शनी आयोजना गरेकोमाम तपाईंहरूलाई विशेष धन्यवाद र बधाईदिन चाहन्छु ।
नेपाली उत्पादनको प्रवर्द्धन, उद्योगीलाई उत्साह र उपभोक्तालाई चेतना जगाउने उद्देश्यका साथ रुपन्देही उद्योग संघले हरेक वर्ष राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गर्दै आइरहेको कुरा थाहा पाउँदा ज्यादै खुसी लागेको छ ।
यस राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवबाट स्वदेशी उत्पादनहरूको प्रदर्शन, प्रवर्द्धन एवं बजारीकरणमा महत्वपूर्ण योगदान पुग्नुका साथै एक्स्पोले उद्योगी व्यवसायीहरू बिच प्राविधिक र व्यवस्थापकीय अनुभवको आदान–प्रदान,उत्पादक, उपभोक्ता, विज्ञहरू एवं सरकारका निकायहरू बिच अन्तर्क्रिरयाको अवसर समेत प्रदान गर्ने मैले विश्‍वास लिएको छु ।

“समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने अत्यन्त सामयिक विषयवस्तुका साथ आयोजना गरिएको यस प्रदर्शनीले विगत करिब तीन वर्षदेखि कोभिड–१९ महामारीका कारण शिथिल हुन पुगेको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन सहयोग पु¥याउने मैले विश्‍वास लिएको छु ।
विश्‍व शान्तिका अग्रदूत भगवान बुद्धको जन्मस्थल लुम्बिनीको काखमा आज तपाईंहरूले समृद्ध नेपाल निर्माण गर्न र स्वदेशी उद्यमशीलतालाई विस्तार गर्नुपर्ने अत्यन्त असल विचार अगाडि सार्नुभएको छ । हाम्रो सभ्यताले विकास गरेका प्राचीन शास्त्रहरूले ’सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया’ को परिकल्पना गरेका छन्, जसमा हरेक व्यक्तिलाई सुखी रहनका निम्ति निरोगी र उद्यमशील हुन आवश्यक पर्ने सन्देश अन्तर्निहित रहेको छ ।बुद्धका उपदेशको सार पनि निस्वार्थ परिश्रम र मानव सेवासँग नै सम्बन्धित रहेको छ।हाम्रो सभ्यताका यिनै मार्गदर्शन समेतलाई आधार मानेर हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा तय गरेका छौं । यस प्रदर्शनीले मुलुकको समृद्धि र जनताको सुखको अपेक्षालाई प्रतिनिधित्व गर्दछ भन्ने मलाई लागेको छ ।
उपस्थित भद्र महिला तथा सज्जनवृन्द,
वर्तमान अवस्थामा हाम्रो राष्ट्रिय अर्थतन्त्रले धेरै गम्भीर प्रकारका चुनौतीहरूको सामना गरिरहेको छ । एकातिर व्यापार घाटा निरन्तर बढिरहेको छ भने अर्कोतिर आयातमाथि हाम्रो निर्भरता विस्तार भइरहेको छ । यसबाट हाम्रो विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्व चाप परेको छ । हामीले यी चुनौतीहरूबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनुपरेको छ ।
मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उत्पादन बढाउने, वन पैदावार र जडिबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन र जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्बन गर्नु अति आवश्यक छ । हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाई युवा जनशक्ति र किसानहरूलाई उत्प्रेरित गर्न उद्योगी–व्यावसायीसँग मिलेर काम गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु । यसबाट केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरू निर्माण हुनुका साथै रोजगारी र उद्यमशीलताका नयाँ अवसरहरू सिर्जना गरी पुँजी र प्रतिभाको पलायन समेत रोक्न सकिन्छ भन्ने मलाई लाग्दछ।
स्वदेशी उत्पादनको प्रयोग, तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी तथा रोजगारी सिर्जना गर्ने कार्यमा सहजीकरण गरिदिनु राज्यको असाध्यै गहन जिम्मेवारी हो ।उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको हुनाले यसतर्फ राज्यकानिकायहरूको ध्यान जानुपर्दछ । राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले राज्यको क्षमताअनुसार सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न म सम्बद्ध सबैको ध्यान आकृष्ट गर्न चाहान्छु ।
औद्योगिक प्रदर्शनीमा प्रविधिलाई समेत समेटेर नवप्रवर्तनका क्षेत्रमा समेत यहाँहरूले देखाउनुभएको अग्रसरताका लागि रुपन्देही उद्योग संघ र लुम्बिनी प्रदेश उद्योग परिसंघलाई फेरी एकपल्ट साधुवाद दिन चाहन्छु ।
विश्‍व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको मात्र नभई विश्‍वभरिका बौद्धमार्गीहरूको पवित्र तीर्थस्थल समेत भएकोले यो क्षेत्र अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यको रूपमा रहेको छ ।लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गर्दै सभ्यता र आधुनिकताको नयाँ संगमस्थल बनाउन तपाईंहरूले गर्ने हरेक प्रयासमा मेरो व्यक्तिगत तथा संस्थागत साथ सदैव रहने विश्‍वास तपाईंहरूलाई दिलाउन चाहन्छु ।
यस सन्दर्भमा, हालसालै सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कारण लुम्बिनी प्रदेशको पर्यटन लगायत समग्र आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।मुलुकको पर्यटन उद्योगलाई थप सुदृढ गर्नका लागि लुम्बिनीको भ्रमणमा आउने पर्यटकहरूले अन्य क्षेत्रको समेत भ्रमण गर्ने सम्भावनाहरूको खोजी र विस्तार गर्न आवश्यक छ । लुम्बिनी अन्तर्राष्ट्रिय विमान स्थललाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आवश्यक प्रवन्ध मिलाउनसम्बन्धित निकायले तदारूकता देखाउनु पर्दृछ ।
पछिल्ला दिनहरूमा लुम्बिनी प्रदेशका आर्थिक तथा औद्योगिक गतिविधिमा महिलाहरूको सहभागिता र नेतृत्वले धेरै सकारात्मक सन्देश दिएको छ। महिलाको व्यावसायिक नेतृत्व विकास तथा क्षमता अभिवृद्धिमा हामीले आर्थिक एवं मानवीय लगानी बढाउँदै लैजानुपर्दछ।यस अवसरमा उद्यमी महिला दिदीबहिनीहरुलाई अझ मेहनत गर्दै स्वावलम्बी बनेर अगाडि बढ्न आह्वान गर्दछु।
अन्तमा, यस भव्य समारोहमा मलाई आमन्त्रण गर्नु भएकोमा रुपन्देही उद्योग संघ रलुम्बिनी प्रदेश उद्योग परिसंघलाई धन्यवाद दिँदै पुनः एक पटक प्रदर्शनीको पूर्ण सफलताका साथै तपाईंहरू सबैको सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद ।

माधव पौडेल : अध्यक्ष रुपन्देही उद्योग संघ

औद्योगिक विकासको प्रमुख लक्ष्य सहित वि.सं. २०३५ साल मंसिर १५ गते आदरणीय संस्थापक अध्यक्ष रणबहादुर शाहज्यूको नेतृत्वमा स्थापित रुपन्देही उद्योग संघले राजधानी बाहिर पहिलो पटक वि.स.२०४५ सालमा संस्थागत र व्यवस्थित रुपमा आयोजना सुरु गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको १५ औं संस्करण सफल बनाउन आज हामी बुटवल नगरीको यस आधुनिक प्रदर्शनी स्थल बुटवल मण्डपमा उपस्थित भएका छौ ।
‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघको संयुक्त आयोजनामा आजदेखि १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को विधिवत शुरु हँुदैछ । संघका अग्रजहरुको पहलमा थालिएको औद्योगिक प्रदर्शनी यस क्षेत्रका लागि एक पहिचान र उत्सव नै बनेको छ । यस घडिमा औद्योगिक प्रदर्शनी सफल बनाउन तयारीका क्रममा प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग पु¥याउनु हुने सम्पूर्ण महानुभावहरु प्रति आभार व्यक्त गर्न चाहान्छु ।

सम्माननिय राष्ट्रपति ज्यू,
स्वदेशी उद्योग र उत्पादनले मात्र राष्ट्रको आर्थिक विकासमा स्थायी टेवा दिन्छ । औद्योगीकरण नै कुनै पनि देशको विकासको मूल आधार हो । तर अस्थिर राजनैतिक वातावरण र तमाम कानुनी झन्झटका कारण आज हाम्रो देशको औद्योगिक विकासको गति सन्तोषजनक छैन । देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वद्र्धन र विकासका निम्ति सरकारी तथा निजी क्षेत्रहरु हातेमालो गरेर अगाडि बढ्नु जरुरी छ ।
लामो समयको राजनैतिक अस्थिरता र द्वन्द्वबाट ग्रसित बनेको औद्योगिक क्षेत्र राजनैतिक परिवर्तन र नयाँ राजनीतिक प्रणाली अन्तरगत बनेका सरकारहरुबाट यो क्षेत्रले धेरै आशा र भरोशा गरेको थियो । तर राज्यले लिएका नीति तथा पछिल्ला दिनमा देखिएको अस्थिर राजनीतिका कारण हाम्रा आर्थिक उन्नतीका एजेण्डा पछाडि धकेलिंदै जाने हुन् कि भन्ने अनुभूति भएको सुनाउनु पर्दा हामीलाई दुःख लागेको छ । शंसस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारी लगायतका अनेक थुपै्र असहजता र समस्यासँग लड्दै अस्थिरताकाबीच लगानी गरिरहेका उद्योगी व्यवसायीहरुले राज्यको अभिभावकीय भूमिका पाउन नसकेको साँचो हो । नीजि क्षेत्रले अनुभूति गरेको यो अवस्था राष्ट्रको आर्थिक समृद्धिको सन्दर्भमा राम्रो संकेत पक्कै पनि होइन भन्ने हामीलाई लागेको छ ।
कोरोना महामारी लगायतले अर्थतन्त्रमा पारेको असर अहिले गम्भिर रुपमा देखिदै आएको छ । लामो समयको महामारीबाट प्रताडित उद्योग–व्यवसायहरु बिस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा उत्पादन लागतमा प्रत्यक्ष दबाब बढ्ने गरी बैंक तथा वित्तिय संस्थाहरुले अत्यधिक वृद्धि गरेको व्याजदरले ठूलो मर्का परेको छ । औद्योगिक विकासका निम्ति नीतिगत सुधार, पर्याप्त पुँजी परिचालन र पूर्वाधारको विकास, स्वदेशी उद्योगहरुको संरक्षण र प्रबद्र्धन गर्ने कुरामा राज्यले ध्यान दिएको छैन । आर्थिक क्षेत्रलाई उकास्ने प्रकारको नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने कुरा हरेक सरकारको पालामा स्वीकार गरिएको भए पनि व्यवहारमा काम हुन सकेको छैन । यता नेपाल भारतवीचको खुल्ला सिमा नाकाबाट हुने अबैध कारोवारबाट नेपाली उद्योगका उत्पादनहरुलाई ठूलो समस्यामा परिरहेका छन् ।
नेपालको अर्थतन्त्रमा पछिल्लो समयमा संकट देखापरेको कुरा हाम्रा सुचाड्ढहरुले इंगित गरेको छ । आर्थिक हिसाबले हरेक क्षेत्र पछाडि परिरहेको छ । देशको आर्थिक वृद्धिदर दिन प्रतिदिन खस्कदो अवस्थामा छ । यसमा सरकारलाई गम्भिर बनिदिन यसै मञ्चमार्फत हामी आग्रह गर्न चाहान्छौं ।

अतिथि ज्यूहरु,
संघले उद्योगीहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै यस क्षेत्रका समस्याहरु समाधानका निम्ति अग्र स्थानमा उभिएर सम्बन्धित निकायहरुमा पु¥याउने गरेको छ । यहि अभियानको एउटा श्रृंखला हामीले आयोजना गर्न लागेको औद्योगिक प्रदर्शनी पनि हो । स्वदेशी उत्पादनको पहिचान गरी उत्पादक र उपभोक्ताहरुबीचको सम्बन्ध बिस्तारका लागि आयोजना गर्न लागिएको यो प्रदर्शनीले राज्यलाई औद्योगिक नीति निमार्ण गर्न सहयोगि बन्न्ने बिश्वास लिएका छौ । उपभोक्ता, उत्पादक एव विज्ञहरुलाई एउटै थलोमा राखेर गरिने छलफलले मात्र उद्योग क्षेत्रको समस्या समाधान गर्न सकिन्छ भन्ने हाम्रो ठम्याई छ । यो प्रदर्शनी त्यसैको संगम होे । देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वद्र्धन र विकास जरुरी छ । यसका लागि स्वदेशी उत्पादनको प्रयोगलाई सबैले प्राथमिकता दिनु जरुरी छ । हामीले आयोजना गर्ने प्रदर्शनीमा स्वदेशी उत्पादनहरुलाई मात्र समावेश गरिएको छ । यसबाट नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास हामीले लिएका छौं । प्रदर्शनीका मुख्य उद्देश्य स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन र स्वरोजगार श्रृजना रहेको छन् ।
हामीले आयोजना गर्ने औद्योगिक प्रदर्शनीलाई संस्थागत हितमा मात्र सीमित राख्ने गरेका छैनौं । हामीले सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ भनेर विगतका वर्षहरुमा जस्तै यस पटकको प्रदर्शनीको प्रवेश टिकटबाट पनि संकलित रकम मध्ये केही प्रतिशत सामाजिक कार्यका लागि छुट्याएका छौ । जसमा प्रत्येक टिकटबाट रु.४ गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई र औद्योगिक तथा समाजिक कोषका लागि ४ रुपैया छुट्टाउने निर्णय गरेका छौं ।
हामीले आयोजना गर्ने प्रर्दशनीलाई व्यवस्थित, परिमार्जित र नविनतम शैलीमा आयोजना गर्न सकिन्छ भनेर आफ्नो क्षमताले भ्याएसम्म प्रयास गर्दै आएका छौ । समग्रमा प्रदर्शनीका स्वरुप र लक्ष्य एकै प्रकारका हुने गरेको भए पनि नयाँ शैली र सहभागिताका आधारमा फरक बनाउने गरेका छौ ।

उपस्थित महानुभावहरु,
हामीले स्वदेशी उत्पादनको प्रयोग अनिवायृ हुनु पर्दछ भनेर लामो समयबाट अभियान थालेका छौं । राज्यले स्वदेशी वस्तु उपभोग निर्देशिका जारी पनि गरेको छ तर त्यसको व्यवहारिक रुपमा सरकारी निकायबाटै कार्यान्वयन हुन सकेको छैन । स्वदेशी उत्पादनलाई अनिवार्य प्रयोगको व्यवस्था लागु गर्न जोडदार माग गर्दछौं । नेपाल उद्योग परिसंघले देश व्यापी रुपमा संचालन गरिरहेको “मेकिङ नेपाल” अभियानलाई राज्यका सबै निकायहरु मार्पmत सहकार्य गर्न आग्रह गर्दछौं ।

सम्माननीय प्रमुख अतिथि ज्यू,
हामीले आयोजना गरेको प्रदर्शनीमा नेपालका करिव ३९ जिल्लाबाट कृषि, हस्तकला, गार्मेन्ट, खाद्यान्न, बेकरी, छालाजुत्ता, रेष्टुरेण्ट, लगायतका विभिन्न प्रकृतिका स्वदेशी उद्योगका उत्पादनहरु समावेश गरिएका ४५० स्टलहरु रहेको जानकारी गराउँदछु । त्यस्तै प्रर्दशनी अवधिमा यस क्षेत्रका भेषभूषा तथा संस्कृती झल्किने जातिजनजातिहरुको प्रदर्शनी गरिने छ । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य, कलेज स्तरीय बक्तृत्वकला प्रतियोगिता, टिकटक ट्यालेन्ट हन्ट, प्रदर्शनी आइडल, लोक भजन आदि प्रतियोगिताहरु रहने छन् । यस क्षेत्रको समग्र औद्योगिक पर्यटन र कृषिको संभावनाको खोजी गर्ने उद्देश्यले यस आयोजना भित्र विभिन्न खालका गोष्ठी र अन्तक्र्रियाहरु आयोजना हुनेछन् ।
हामीले लामो प्रयास पछि औद्योगिक प्रदर्शनी तथा महोत्सवहरु आयोजना गर्ने ठाउँ बुटवल मण्डपमा आधुनिक प्रदर्शनी केन्द्र पाएका छौ । यसको भौतिक निर्माणको काम पुरा भएको छैन । प्रर्दशनी स्थल नहुँदा हरेक वर्ष यस्ता प्रदर्शनीहरु आयोजना गर्दा करोडौं धनराशी अस्थायी संरचनाहरुमा खर्चनु पर्ने अवस्थाको अव छिटै अन्त्य हुनेछ ।
आयोजनाको सकारात्मक प्रभावले औद्योगिक गतिविधिमा बढवासंगै स्वरोजगारी श्रजना र नयाँ युवा उद्यमीहरुको उदय हुने विश्वास हामले लिएका छौं । पुराना र गहिरा अनुभवले नविनतम सोंच र प्रविधिको विका। गर्ने महान अभिलाषा हामीले लिएका छौं ।
अन्तमा, समग्र देशको निर्माणको अभिभारा हामी सबैको काँधमा छ । विगतका तितामिठा अनुभावबाट संलिएर विकास र समृद्धिको मार्गचित्र कोर्नुपर्ने छ । सिमित श्र्रोत साधन भएता पनि त्यसको उच्चतम सदुपयोग गर्न सकेमा देशको विकास असम्भव कदापि छैन, आआफ्नो जिम्मेवारी र कर्तव्यप्रति इमानदारिताकासाथ संकल्प कोरेर निरन्तर अघि बढौं । नीजि क्षेत्र त्यसमा सधै तम्तयार रहेको प्रतिवद्धता व्यक्त गर्न चाहान्छौं ।

हाम्रो निमन्त्रणालाई स्वीकार गरी आफ्नो व्यस्थताका बाबुजुद पनि उपस्थित भई प्रमुख आतिथ्यता ग्रहणगरी कार्यक्रमको गरिमा बढाईदिनु भएकोमा सम्माननीय राष्ट्रपतिज्यूमा आभार व्यक्त गर्न चाहान्छौ । त्यसैगरी विशिष्ठ अतिथिज्यूहरु, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल प्रति कृतज्ञता व्यक्त गर्दछौ । सम्पूर्ण अतिथिज्यूहरु, उपस्थित महानुभावहरु, सहभागी उद्यमीहरु, सरकारी, गैरसरकारी, पेशागत एवं व्यवसायिक संघसंस्था प्रतिनिधि एवं प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी मित्रहरु, सुरक्षा निकाय, कलाकारहरु, मुख्य प्रायोजक एंव प्रायोजकहरु सबैलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै आफ्नो भनाई अन्त्य गर्दछु ।
धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्