कोभिड १९ महामारीः तिलोत्तमामा आकस्मिक रक्तदान कार्यक्रम


appharu

१५ जेष्ठ २०७८, शनिबार १७:४९ मा प्रकाशित

पालिकापत्र, बुटवल ।
नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको आयोजना एंव जागृति युवा क्लबको संयोजनमा तिलोत्तमा २ मा अवस्थित क्लबको कार्यालय परिसरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड १९ को महामारीका कारण रगत तथा रक्ततत्व अभाव हुन नदिने उद्धेश्यले आयोजित उक्त कार्यक्रममा २ जना कोरोना जितेका युवाको प्लाज्मा रगतसँगै १०१ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत अभाव हुन नदिन आफ्नो संस्था जिल्लादेखि नगर तहसम्म निरन्तर लागिरहेको बताउनुभयो ।

कोभिड १९ का कारण समुदायस्तरमा रक्तदान कार्यक्रम विगतको तुलनामा न्यून गतिमा भएकाले यस्तो समयमा जागृति युवा क्लब र तिलोत्तमा नगरका युवाले रक्ततत्व अभाव हुन नदिनलाई लागि परेको भन्दै क्लबको प्रशंसा गर्नुुभयो ।

अर्का अतिथि नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखा का सभापति एंव शिक्षाविद् टेकबहादुर थापाले बोल्दै यस विषम परिस्थितिमा समेत संस्थाले मानव जीवन रक्षार्थ अहोरात्र रगतको क्षेत्रमा खटेको भन्दै प्रशंसा गर्नुभयो ।

बुटवल ब्लड बैंक र भैरहवा ब्लड बैंकको प्राविधिक सहयोगमा स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम गरिएको हो । रक्तदाता समाजको तिलोत्तमा नगर शाखा गठन पछि यो पहिलो कार्यक्रम गरेसँगै नियमित मासिक रक्तदान श्रृङ्खला सन्चालन गर्ने उद्धेश्य रहेको शाखाका अध्यक्ष गोविन्द भुसालले बताए ।

ए. आई. पौडेल ट्रेडर्स योगिकुटीद्वारा प्रायोजित कार्यक्रम जागृति युवा क्लबका अध्यक्ष विदुर के.सी.को संयोजकत्व समाजका उपाध्यक्ष पुर्णचन्द्र सुवेदीको स्वागत तथा समाजका सचिव प्रेम नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्