बुटवल उपमहानगरलाई जसपाको ज्ञापन, घर वहाल कर छुटदेखि खोपको व्यवस्था गर्न माग


appharu

२० असार २०७८, आईतवार १९:४० मा प्रकाशित

पालिका पत्र,बुटवल ।
जनता समाजवादी पार्टी (जसपा)ले बुटवल उपमहानगरपालिकासंग नगरवासीलाई ततत्काल खोपको व्यवस्था गर्न माग गरेको छ । कोभिड १९ को संक्रमण रोकथाम गर्दै नगरवासीहरुको स्वास्थ्य सुरक्षाको लागिको लागि तत्काल सबै नागरिकलाई खोपको व्यवस्थ पहल गर्न र जोखिम न्यूनिकरणका लागि निःशुल्क कोभिड टेष्ट गर्न समेत आग्रह गरेको छ ।
साथै व्यवसायीहरुलाई ३ महिनाको घरवहाल कर र अन्य दस्तुर छुट गर्न गर्न पनि जसपाले माग गरेको छ । जसपा बुटवल उपमहानगर कमिटिका अध्यक्ष बामदेव भुसालले नगर प्रमुख शिवराज सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै कोरोना महामारीका कारण विगत २ महिनादेखी जारी निषेधाज्ञाले व्यापार व्यवसाय बन्द हुन पुगेकाले व्यवसायि÷उद्यमीहरुलाई राहत स्वरुप आर्थिक वर्षको कम्तीमा ३ महिनाको घरवहाल कर र अन्य दस्तुर छुट दिन माग गरेको हो ।

जसपाले बजारमा म्याद गुज्रिएका खाद्य सामग्रीहरुको बिक्री वितरण हुने खतरा बढेकोले बजार अनुगमन गर्न पनि माग गरेको छ ।
नगरमा सञ्चालित विकास निर्माणका कार्यहरुको गुणस्तरियता माथि प्रश्न उठ्ने गरेको भन्दै गुणस्तरिय काम भएको नभएको यकिन गरि गुणस्तरहिन काम गरि बजेट सक्ने परिपाटीको अन्त्य गर्न पनि जसपा बुटवल उपमहानगर कमिटिले माग गरेको छ ।

जसपाले नगरका विभिन्न बस्तीहरुमा बाढी र डुबानको जोखिम रहेको भन्दै जोखिममा परिसकेका र संभावित जोखिम क्षेत्रका नगरबासीहरुलाई सुरक्षित स्थानमा पुर्नवासको व्यवस्था गर्न पनि माग गरेको छ । प्राकृतिक प्रकोपजन्य घटनाबाट प्रभावित र पिडितहरुको उद्दार, राहत तथा व्यवस्थापनमा विशेष ध्यान दिन पनि जसपाको माग छ ।

नगरको स्वच्छता र सुन्दरताका लागि सडक छेउछाउ, चोक तथा खाली जमिनमा प्रयाप्त वृक्षारोपण गरी नगरका मुख्य चोक तथा भिडभाड हुने ठाउँमा सार्वजनिक शौचालयको व्यवस्था गर्न पनि जसपाले माग गरेको छ ।

ज्ञापनपत्र बुझाउन जसपा बुटवल उपमहानगर कमिटी अध्यक्ष बामदेव भुसाल,जसपा बुटवल नगर सचिव तेजु राना, जसपा नेताहरु कमल खनाल, पंकज राई, विमल गिरी, प्रेम बहादुर अर्याल, विजय ढकाल लगायतका नेताहरु गएका थिए । ज्ञापनपत्र बुझाउनुअघि जसपाका नेता तथा कार्यकर्ताले बुटवल उपमहानगरपालिकाको गेट अगाडि विभिन्न प्ले कार्ड सहित धर्ना बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्