संसदबाट बजेट फेल हुने भय पछि अध्यादेशबाट बजेट ल्याउने तयारीमा लुम्बिनी सरकार


appharu

१ श्रावण २०७८, शुक्रबार ०७:४१ मा प्रकाशित

बुटवल ।
लुम्बिनी प्रदेश सरकारले सदनबाट बजेट पास गर्न नसकेपछि अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ। जसको पहिलो कदमअनुसार सरकारले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको छ।

सरकारको सिफारिशमा प्रदेश प्रमुखले बिहिबार राती १२ बजेदेखि चालू अधिवेशन अन्त्य गरेका छन्। बजेटमाथिको छलफल सकिएर पास गर्ने समयमा विपक्षी गठबन्धनले बजेट असफल बनाउने तयारी गरेपछि सत्तारुढ दल नेकपा एमालेले बैठक बहिस्कार गरेको थियो।

सदनमा बजेट पास गर्न बहुमत नपुगेपछि एमालेले थप छलफलका लागि समय माग्दै बैठक बहिस्कार गरेको थियो । तर उसले छलफलको कुनै प्रयास गरेन।

बजेटमाथि छलफल गरेर सहमति जुटाउन समय माग गरेर सत्तारुढ दल नेकपा एमालेका सांसदहरु प्रदेश सभा बैठकबाट बाहिरिएका थिए ।

छलफलका लागि सभामुखले आधा घण्टाको समय दिएपनि सत्तारुढ दल र विपक्षी गठबन्धनबीच सहमति जुटेन। सत्तारुढ दल र विपक्षी गठबन्धनबीच छलफल नै नभएपछि प्रदेश सभा बैठक सूचना टाँसेर शुक्रबार दिउसो १ बजेसम्मका लागि स्थगित भएको थियो।

८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जनता समाजवादी दलको महन्थ ठाकुर पक्षका ३ जना गरी ४१ जना सांसद् छन् भने विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपा उपेन्द्र यादव पक्षका ३ जना र राष्ट्रिय जनमोर्चाका १ गरी ४२ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्