माघ १८ देखि भूमि आयोगले चितवनमा काम गर्ने


appharu

१३ माघ २०७८, बिहीबार १४:१९ मा प्रकाशित

चितवन ।
राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेदेखि लालपुर्जा वितरणको प्रक्रिया सुरू गर्ने भएको छ ।

आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो । आयोगले भरतपुर महानगरपालिका-१४ सहित ६ वटा वडाबाट काम सुरू गर्न लागेको हो ।

सबै वडामा ६ जनाका दरले प्राविधिकसहित आवश्यक जनशक्ति परिचालन हुने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा स्याटेलाइटसहितका आवश्यक प्रविधि जुटाएर कामलाई तीव्रता दिइने उनले जानकारी दिए ।

भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् ।

महानगरबाट काम थालेसँगै कालिका नगरपालिका र माडी नगरपालिकाले सरकारसँग सम्झौता गरिसकेकाले ती पालिकामा पनि तत्काल काम अघि बढ्ने उनले बताए ।

काम सुरू गर्नुअघि सम्बन्धित वडामा सहजीकरण समितिमार्फत सार्वजनिक सुनुवाइसमेत गर्ने तिमिल्सिनाले बताए ।

तत्कालीन जिल्ला विकास समितिका उपसभापतिसमेत भइसेकका भएका तिमिल्सिनाले आफूलाई जिल्लाको सबै भूगोल र अवस्थाको बारेमा जानकारी भएकाले वास्तविक भूमिहीनलाई जग्गा दिलाएरै छाड्ने दाबी गरे । रासस

प्रतिक्रिया दिनुहोस्