विद्यालय सञ्चालन गर्न दिन प्याब्सन रुपन्देहीको माग


appharu

१३ माघ २०७८, बिहीबार १४:४९ मा प्रकाशित

पालिकापत्र, बुटवल ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीले विद्यालय सञ्चालनको वातावरण बनाइदिन सम्बन्धित निकायसंग माग गरेको छ ।

प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अन्य सबै क्षेत्र खुला रहेको भन्दै विद्यालय पनि खुल्न दिएर भौतिकरुपमै पठनपाठन हुने व्यवस्थाका लागि सरोकारवालासंग माग गरेका छन् । ‘एसईई र वार्षिक परीक्षा नजिकै आइरहेको सन्दर्भमा लामो समयको विद्यालय बन्दले शैक्षिक क्षेत्र अस्तव्यस्त भएको र विद्यार्थीहरुमा नकारात्मक मनोसामाजिक असर परेको हुंदा खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमा यथाशीघ्र कक्षा सञ्चालनको व्यवस्था गर्न आग्रह गर्दछौं’–विज्ञप्तिमा भनिएको छ–‘अनलाइन वा वैकल्पिक कक्षाले विद्यार्थीको शिक्षण सिकाइ प्रभावकारी नभएकोले भौतिक रुपमै विद्यार्थीलाई विद्यालय आउने–जाने वातावरण बनाउनु उपयुक्त देखिन्छ ।’ सबै विद्यार्थीको घरमा इन्टरनेटको उपलब्धता नभएको र विद्यार्थी तथा अभिभावकहरुसँग स्मार्ट मोबाइल, ल्यापटप पर्याप्त नभएका कारणले बैकल्पिक माध्यमबाट अनलाइन कक्षा सञ्चालनको प्रयास प्रभावकारी र उपलब्धिमूलक नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई यथाशीघ्र खोप लगाउन र पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्नसमेत माग गरिएको छ । प्याब्सनले यथाशक्य चाँडो पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि खोपको व्यवस्था गर्न र शिक्षक तथा कर्मचारीका लागि बुस्टर डोजको व्यवस्था गर्न पनि माग गरेको छ ।

अनलाइन कक्षाका नाममा बालबालिकाहरु गेम र च्याटमा व्यस्त भएका गुनासा अभिभावकहरुबाट आइरहेको र मनोसामाजिक, मनोसांस्कृतिक हिसाबले विचलन आउन सक्ने जोखिममा भएकाले निर्वाध रुपमा विद्यालय सञ्चालन गर्नु उचित हुने विज्ञप्तिमा उल्लेख छ । रुपन्देही प्याब्सनमा करिब २ सय ५० विद्यालय आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्