चन्द्रकान्त न्यौपाने, भन्छन् ‘जित्ने माहौल बन्दै छ’


appharu

२७ चैत्र २०७८, आईतवार १०:२८ मा प्रकाशित

पालिकापत्र, वाणगंगा ।
स्वतन्त्र उम्मेदवारी पछि चर्चामा रहेका वडा अध्यक्षका उम्मेदवार चन्द्रकान्त न्यौपानेले जितिने वातावरण बनिरहेको बताउनु भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ मा स्वतन्त्र तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएका न्यौपानेले आफूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि आएका प्रतिक्रियाको आधारमा जित्ने खालको माहौल बनेको बताउनु भएको हो ।

आइतबार विहान रेडियो मायादेवीसंग कुराकानी गर्दै न्यौपानेले भन्नुभयो ‘उम्मेदवारी पछि अहिले सबैको प्रतिक्रिया बुझिरहेको छु । सामाजिक संजालदेखि भेटघाटको क्रममा सबैले उत्साह दिइरहनु भएको छ । यसले मेरो थप हौसला बढिरहेको छ । मेरो उम्मेदवारी पछि सबै खुसी रहेको देख्छु ।’

आफ्नो उम्मेदवारी गलत पार्टी र पात्र विरुद्ध रहेको उहाँले बताउनु भयो । पहिलो स्थानीय तहको कार्यकालमा निर्वाचित भएका जनप्रतिनिधिबाट जनता खुसी नभएको उहाँको दावी छ ।

अहिलेका जनप्रतिनिधिबाट जनता खुसी नभएका कारण आफ्नो जित सुनिश्चित रहेको रहेको उहाँको दावी छ ।’ उहाँले अब काँग्रेस, एमाले या अरु दल नभनेर सक्षम पात्रलाई मत खसालेर जिताउनु अहिलेको आवश्यकता भएको बताउनु भयो ।
मुख्यगरी बुद्धिजीवी, ब्यापारी, ब्यवसायी, शैक्षिक तथा सामाजिक ब्यक्तिले प्रारम्भिक चरणमा आफूलाई सहयोगी गर्ने प्रतिवद्धता जनाएको उहाँले बताउनु भयो । दलबलका ब्यक्तिभन्दा पनि सक्षम र केही नयाँ गर्न खोज्ने ब्यक्ति वडा र नगरबासीले खोजेको समेत पाएको उहाँले सुनाउनु भयो । आफू निर्वाचित भए यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, सेवाप्रवाह लगायतमा नतिजामुखी काम गर्ने उहाँले दावी गर्नुभयो ।

मुख्य गरी काँग्रेस र एमाले र अरु दलबाट पनि आफूलाई निर्वाचनमा सहयोग पुग्ने भएकोले जित हासिल गर्ने उहाँको दावी छ । आफ्नो उम्मेदवारी पछि मुख्यगरी काँग्रेस र एमालेभित्र चर्चा रहेको उहाँले बताउनु भयो । आफू सक्षम भए आफूलाई र दलका उम्मेदवार सक्षम भए उनैलाई मत खसाल्न उहाँको आग्रह छ । एमाले, काँग्रेस र माओवादीमा चर्चामा आएका उम्मेदवारहरुभन्दा आफू कुनै हालतमा कमजोर नभएको बताउँदै उनीहरुसंग हरेक हिसावमा प्रतिस्पर्धा गर्न आफू तयार रहेको समेत उहाँले बताउनु भयो ।

स्वतन्त्र उम्मेदवारी पछि पत्रकार न्यौँपाने अहिले चर्चामा छन् । वाणगंगामा क्रियाशिल राजनैतिक दल, गाउँघर र चिया चोकहरुमा समेत न्यौपानेको विषयले चर्चा पाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्