जेठ २४, २०८३
तीन वर्षअघि विजय तेली शिक्षक सेवा आयोगको परीक्षाको तयारीमा जुटेका थिए। सामान्य ज्ञानको पुस्तक पल्टाउँदै गर्दा उनले एउटा प्रश्न देखे– “२०७५ सालको उत्कृष्ट वातावरण पत्रकार पुरस्कार प्राप्त गर्ने व्यक्ति को हुन्रु” उत्तरमा आफ्नै सहकर्मी मनोज पौडेलको नाम देखेपछि उनी छक्क परे।
सँगै उठबस गर्ने, एउटै क्षेत्रमा काम गर्ने साथीको नाम लोकसेवा र शिक्षक सेवा आयोगका पुस्तकमा छापिएको देख्दा उनलाई विश्वासै लागेन। उनी पुस्तक बोकेर सिधै मनोज पौडेलको घर पुगे र त्यसको पुष्टि गरे। तस्वीर खिच्दै लोकसेवाको प्रश्न बन्न सफल व्यक्ति कपिलवस्तुका फोटो पत्रकार मनोज पौडेल नै रहेछन्।
हाल शिक्षक सेवा आयोग उत्तीर्ण गरी दाङको राजपुर गाउँपालिका–७ स्थित युगबोध आधारभूत विद्यालयमा कार्यरत तेलीका लागि त्यो क्षण अझै स्मरणीय छ। अर्कोतर्फ कपिलवस्तु नगरपालिका–१, आनन्दबाग निवासी ५० वर्षीय मनोज पौडेल भने आज पनि चरा, वन्यजन्तु, वन र वातावरणका गतिविधिलाई क्यामरामा कैद गर्न व्यस्त छन्।
वन तथा वातावरण मन्त्रालयले प्रदान गरेको उत्कृष्ट वातावरण पत्रकार पुरस्कारले उनलाई राष्ट्रिय स्तरमा चिनाएको हो। उनी फोटोमा सिर्जना खोज्छन्, नयाँ एंगल दिन्छन्, जीवन्तता थप्छन् र तस्वीरलाई बोल्न सक्ने बनाउँछन्। उनका तस्वीरले दर्शकलाई आनन्द, रोमाञ्च र उत्साहको अनुभूति गराउँछन्।
संघीय राजधानी काठमाडौंभन्दा बाहिर बसेर पनि पौडेलले राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। तौलिहवाबाट पत्रकारिता सुरु गरेका उनी अहिले देशकै चर्चित वन्यजन्तु तथा वाइल्डलाइफ फोटो पत्रकारमध्ये एक मानिन्छन्।
उनी भन्छन्, “चराको आनीबानी, विचरण, जलक्रिया र उडान निकै रोमाञ्चक हुन्छ। त्यसलाई क्यामरामा कैद गर्न पाउँदा छुट्टै आनन्द मिल्छ।”
चराको उत्कृष्ट तस्वीर खिच्न उनी घण्टौँ समय खर्चन्छन्। धैर्यता, एकाग्रता, ज्ञान र कलाको संयोजनले मात्रै राम्रो तस्वीर सम्भव हुने उनको अनुभव छ।
जगदीशपुर तालमा बारम्बार पुग्ने क्रममा उनी चराप्रति आकर्षित भएका थिए। वरिष्ठ चराविद् डा। हेमसागर बरालसँगको निकटताले उनको रुचिलाई अझ गहिरो बनायो। त्यसपछि उनले चरा र वातावरण संरक्षणका विषयलाई आफ्नो पत्रकारिताको मुख्य क्षेत्र बनाए।
पछिल्लो १२ वर्षदेखि फोटो पत्रकारितामा सक्रिय पौडेलले विश्वकै दुर्लभ सारस चराको जीवनचक्रलाई नजिकबाट पछ्याउँदै आएका छन्। गुँड बनाउनेदेखि बच्चा हुर्काएर पहिलो उडान भर्ने अवस्थासम्मका दृश्य उनले क्यामरामा उतारेका छन्। सारससम्बन्धी उनको फोटो फिचर बेलायतको चर्चित वातावरणीय अनलाइन द थर्ड पोल मा प्रकाशित भई सन् २०१९ को उत्कृष्ट फोटो फिचर घोषित भएको थियो।
उनका तस्वीर नेपाल मात्र होइन, बंगलादेश, भारत, म्यानमार, ब्रुनाई, थाइल्यान्ड, सिङ्गापुर र भियतनामका विभिन्न सञ्चारमाध्यममा समेत प्रकाशित भइसकेका छन्। उनले भुँडीफोर गरुड, स्वर्गचरी, श्वेतवक्ष जुरेली, कैलो रविन लगायत दुर्लभ चराहरूको जीवनशैलीसम्बन्धी तस्वीरहरू पनि सार्वजनिक गरिसकेका छन्।
पौडेलका अनुसार चराबाट मानिसले धेरै कुरा सिक्न सक्छ। चराहरूको परिश्रम, अनुशासन, भविष्यप्रतिको तयारी, समूहमा काम गर्ने बानी र धैर्यताले मानव जीवनलाई समेत सकारात्मक सन्देश दिन्छ।
उनले चरा पर्यटन प्रवर्द्धनका लागि जगदीशपुर तालमा नियमित रूपमा फोटो प्रदर्शनी आयोजना गर्दै आएका छन्। चरा संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएबापत लुम्बिनी प्रदेश सरकारले उनलाई दङ्गीशरण बलिहाङ तृतीय पदकबाट सम्मानित गरेको छ।
वन तथा वातावरण मन्त्रालयको उत्कृष्ट वातावरण पत्रकार पुरस्कार, डब्लुडब्लुएफ संरक्षण अवार्ड, नेपाल वातावरण पत्रकार समूहको वातावरणीय पत्रकारिता पुरस्कार, प्रकृतिका साथीहरूको प्रकृति संरक्षण पुरस्कार लगायत थुप्रै सम्मान प्राप्त गरिसकेका पौडेल राष्ट्रिय फोटो प्रतियोगिताहरूमा पनि दर्जनौँ पटक पुरस्कृत भएका छन्।
सन् २०२० को अन्तिम सूर्यास्तको उनले खिचेको तस्वीर विशेष चर्चित बनेको थियो। बुद्धस्थल कुदानमा साइकलको चक्कासँग मिलेर देखिएको सूर्यास्तको दृश्य सामाजिक सञ्जालदेखि राष्ट्रिय सञ्चारमाध्यमसम्म भाइरल बनेको थियो। धेरैले त्यसलाई “फोटो अफ द इयर” भन्दै प्रशंसा गरेका थिए।
आज पनि उनको क्यामरा ब्यागमा जुम लेन्स र “नेपालका चराहरू” पुस्तक अनिवार्य रूपमा हुन्छ। घर नजिक होस् वा टाढाको यात्रा, उनी क्यामरा बोक्न कहिल्यै बिर्संदैनन्। चरादेखि हिमाल, सूर्यास्तदेखि वन्यजन्तुसम्मका दृश्यलाई कलात्मक ढंगले फ्रेममा उतार्ने उनको यात्रा निरन्तर जारी छ।
“प्यासन नभएको भए यो सम्भव हुने थिएन,” पौडेल भन्छन्, “निरन्तर मेहनत र लगनशीलताले नै आज यो स्थानमा पुर्याएको हो।”


