बुटवलमा गठबन्धनले अनावश्यक कर घटाउने, थारु समुदायको समर्थन गठबन्धनलाई


appharu

२२ बैशाख २०७९, बिहीबार १५:३३ मा प्रकाशित

पालिकापत्र, बुटवल । नेपाली कांग्रेसले बुटवलमा घरबहाल कर घटाउने भएको छ । कांग्रेसले चुनाब जितेमा घरबहाल कर, इरिक्सा व्यवसायी कर, हाटबजार व्यवसायीको बैठकी कर घटाउने प्रतिबद्धता जनाएको छ ।
कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले बुटवलमा जनतालाई अनावश्यक भार पर्ने गरी कर थोपरिरहेको अवस्थामा नगरको आन्तरिक श्रोतको दायरा बढाएर जनतालाई राहत प्रदान गर्ने बताए ।
‘उपमहानगरका अनावश्यक र फजुल खर्च घटाएर त्यसबाट बचत हुने रकम जनताबाट लिइने करमा छुट दिइनेछ, उनले भने–जनतामाथि कर थोपर्ने, वर्षेनी बढाउने भन्दा पनि दायरा बढाएर, फजुल खर्च घटाएर जनतामाथिको भार घटाउने काम हामीले गर्नेछौं ।’
बुटवलमा हाल मनपरी कर तिर्नुपर्ने अवस्था रहेकोमा गठबन्धनले व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाइने उनले बताए ।
उनले निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गर्ने, वार्षिक रुपमा जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने बताए ।
उनले भने–‘बुटवल उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउदै साझा चौतारीका रुपमा बिकास गरिने छ । मेयर युथ एडभाइजरी बोर्ड गठन गरिनेछ ।’
देशविदेशमा रहेका बुटवलका बुद्धिजीवि र व्यवसायिक व्यक्तिहरुलाई बुटवलमै फर्केर आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नसक्ने बनाउनका लागि अनुसन्धानविद्हरु समेटेर बुटवलका लागि प्रबुद्ध परिषद् गठन गर्ने उनले बताए ।
‘आम्दा अस्पताललाई उपमहानगरपालिकाको मातहतमा ल्याई मेडिकल कलेजका रुपमा विकास गर्न आवश्यक पहल गरिने छ, गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण र पोषिलो खानाको व्यवस्था मिलाइने छ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्दै मोबाइल हेल्थ वर्कर समूह गठन गरिने छ’–उनले भने ।
नगरबासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई आवश्यकता अनुसार विकास, बिस्तार र सहयोग उपलब्ध गराउने उनले बताए ।
बुटवलका थारु समुदायले पाँच दलीय गठबन्धनबाट प्रमुख पदका उम्मेदवारलाई विजयी बनाउने बताएका छन् ।
बुटवल–१६ नरैनापुरमा मतदाता भेटघाट गर्न पुगेका कांग्रेस नगर सभापति समेत रहेका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे र उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुङलाई जिताउन थारु समुदाय लाग्ने विश्वास दिलाएका छन् ।
थारु समुदायका अगुवा शान्तकुमारी कठरियाले थारुहरुका समस्या समाधान गर्नका लागि कांग्रेसले अगुवाई गर्नुपर्ने बताइन् ।
‘यसअघि एमालेका नेताहरु आएर के के गर्छौ भनेर आश्वासन दिएर गएका थिए, तर त्यसपछि फर्केर आएनन्, उनले भनिन्–हामीलाई आश्वासन भन्दा बढी काम गर्ने मान्छे चाहिएको छ, तपाइँबाट आशा छ, विश्वास पनि छ, हामी यसपालि तपाईलाई जिताउँछौं ।’
उम्मेदवार पाण्डेले सो क्षेत्रमा थारु होमस्टे बनाउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने–‘यहाँ होमस्टे बनाउनका लागि म अगुवाई गर्छु, होमस्टे चलाएपछि नगरबाट के सहयोग गर्नुपर्छ, होमस्टे नै बनाइदिनुपर्ने हो भने पनि त्यसरी नै अघि बढाउनेछु ।’
पाण्डेले एक वार्ड एक पहिचान नीति लिइने बताउँदै एक सामुदायिक वन एक पार्क नीति ल्याउने बताए । उनले बुटवलमा अहिलेसम्म नगरकै तर्फबाट अस्पताल नभएकाले २ वटा नगर अस्पताल निर्माण गर्ने बताए ।
‘एक गृहणी एक उत्पादनः बुटवलको स्वाभिमान कार्यक्रम सञ्चालन गर्ने, कृषि मण्डी स्थापना गर्ने, बेलबास बेथरी सडक छिटै पूरा गराउने, घरबहाल कर घटाउने, हाटबजार व्यवसायीको बैठकी कर घटाउने जस्ता जनतालाई सिधै प्रभाव पर्ने कुरामा हामीले एकदमै ध्यान दिएका छौं,–उनले भने ।
यस्तै उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङले समानुपातिक विकास र मुलुकमा स्थीरता ल्याउनका लागि गठबन्धनलाई विजयी बनाउनुपर्ने बताए ।
उनले भने–‘एकपटक निर्वाचन भएपछि ५ वर्षसम्म मुलुकलाई स्थीर रुपमा चलाउनका लागि गठबन्धनलाई नै जिताउनुपर्छ, स्थानीय तहमा पनि गठबन्धनलाई जिताउनुस्, हामी बुटवलको बारेमा जे जे नराम्रो कुराहरु बजारमा आइरहेका छन्, त्यसलाई पूर्ण रुपमा सुधार गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्