सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण


पालिका पत्र

२६ बैशाख २०८३, शनिबार १५:५७ मा प्रकाशित

बैशाख २६, कपिलवस्तु ।

कृषिलाई आधुनिक, सहज तथा उत्पादनमुखी बनाउने उद्देश्यले कपिलवस्तुको बाणगङ्गा नगरपालिका–५ स्थित सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले कृषकहरूलाई कृषि यान्त्रिकरण सामग्री वितरण गरेको छ। कृषि ज्ञान केन्द्र तौलिहवाको आर्थिक वर्ष २०८२र०८३ को विनियोजित बजेट अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।
सहकारी संस्थाको सहजीकरणमा आयोजित कार्यक्रममा संस्थाका सेवा क्षेत्रभित्र रहेका कृषक शेयर सदस्यहरूलाई विभिन्न कृषि उपकरण हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। कार्यक्रम अन्तर्गत बाणगङ्गा नगरपालिका–६ का १० जना कृषकलाई स्प्रे टंकी वितरण गरिएको छ भने २ जनालाई चपकटर तथा १ जनालाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण हस्तान्तरण गरिएको जानकारी दिइएको छ।
त्यसैगरी बाणगङ्गा नगरपालिकाको समन्वयमा एक जना कृषकलाई ९ एच.पी. क्षमताको मिनी टिलर तथा दुई थान मकै छोडाउने मेसिन समेत वितरण गरिएको संस्थाका प्रतिनिधिहरूले बताएका छन्।
कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र तौलिहवाका प्रमुख घनश्याम चौधरी ले कृषिमा यान्त्रिकरणको प्रयोग बढाउँदै कृषकहरूको उत्पादन लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले कृषकहरूको आवश्यकता र मागलाई मध्यनजर गर्दै आगामी दिनमा समेत यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे।
त्यस्तै बाणगङ्गा नगरपालिका–६ का वडा सदस्य यामबहादुर प्युठानी ले कृषकलाई प्रत्यक्ष लाभ पुग्ने यस्ता कार्यक्रम ग्रामीण क्षेत्रमा निकै प्रभावकारी हुने बताएका छन्। उनले आधुनिक कृषि उपकरणको प्रयोगले समय, श्रम र लागतको बचत हुनुका साथै उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले स्थानीय तह, सहकारी संस्था र सम्बन्धित निकायबीच समन्वय अझ मजबुत हुनुपर्ने धारणा राखे।
कार्यक्रममा सहकारी संस्थाका पदाधिकारी, कृषक शेयर सदस्य, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागी कृषकहरूले आधुनिक कृषि उपकरण प्राप्त भएपछि खेतीपाती गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए।
सानाकिसान कृषि सहकारी संस्थाले विगतदेखि नै कृषकहरूको आयस्तर वृद्धि, व्यवसायिक खेती प्रवर्द्धन तथा आधुनिक कृषि प्रणालीको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्