पालिकापत्र, बुटवल । रुपन्देहीका अग्रज पत्रकार विनोद पहाडीमाथि सैनामैनामा एमाले कार्यकर्ताले आक्रमण प्रयास गरेका छन् । रुपन्देहीको सैनामैना ९ जनज्योतिटोलमा
आफ्नै भतिज किरण पहाडीलाई भेटन गएका नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष एवं दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष पहाडीलाई बुधबार साँझ पौन ८ बजेको समयमा एमाले कार्यकर्ताले लछारपछार गर्दै आक्रमणको प्रयास गरेका हुन् ।
नितान्त पारिवारिक भेटघाटमा गएको बेला नियोजित रुपमा २ सय जना एमाले कार्यकर्ताले घेराबन्दी गरेर कुटपिटमा उत्रेको पहाडीले बताए । ‘आफ्नै भतिजलाई भेट्न गएको हुँ, भतिज घर नजिकैको आफन्ती मुकुन्द दूतराजको घरमा बसिरहेको बेला १०÷१२ वटा गाडीमा एमालेका युवा कार्यकर्ता ओर्लेर आक्रमण गर्न थालेँ’ पहाडीले भने –‘तुरुन्तै प्रहरी र स्थानीयले जोगाउदा बाँच्न सफल भइयो’ उनले भने । उनले आक्रमणको शैलीमा आएका एमाले कार्यकर्ताको आक्रमणबाट बल्ल बल्ल बाँचेको बताए । ‘प्रहरीले उद्धार गरेर सुरक्षित छु’ उनले भने –‘विनाकारण आक्रमण गर्नेलाई कारवाहीको माग गर्छु।’
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले पत्रकार पहाडीमाथि एमाले कार्यकर्ताबाट आक्रमण प्रयास भएको पुष्टी गर्दै उद्दार गरेर पठाइएको बताए । आक्रमणमा संलग्नहरुको पहिचान भइनसकेको र अनुसन्धान पछि थाहा हुने डीएसपी केसीले बताए ।