वातावरणको संरक्षण भए मात्र मानव जीवन सुरक्षित : मन्त्री हमाल


appharu

२३ जेष्ठ २०७९, सोमबार ०७:२६ मा प्रकाशित

पालिकापत्र,बुटवल । विश्व वातावरण दिवस पाल्पामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण लगायतका कार्यक्रम गरी दिवस मनाइएको हो । लुम्बिनी प्रदेश सरकार, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय बुटवलको आयोजना, डिभिजन वन कार्यालय पाल्पा, सव डिभिजन वन कार्यालय तिनाउ र भुतखोला सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा आइतबार तिनाउ गाउँपालिका–३ दोभानस्थित चुनुमाया पार्कमा वृक्षारोपण गरिएको छ । तिनाउ खोला किनाराको चुनुमाया पार्क लाई केही वर्ष भित्रै हरियाली बनाउने अभियानका साथ वृक्षारोपण गरिएको हो । मन्त्री सुरेन्द्र हमाल, प्रदेश सांसद तुलाराम घर्ती, मन्त्रालयका सचिव दुर्गाबहादुर कार्की लगायतले स्वामी, वर पिपल, लगायत ४० थरिका सौन्दर्यमुलक फुल प्रजातिका बिरुवाहरु रोपेका थिए । सो अवसरमा लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले तिनाउ वन समन्वय समितिलाई विरुवा हस्तान्तरण गर्दै वातावरणको संरक्षण भए मात्र मानव जीवन सुरक्षित हुने भएकाले सबै मिलेर काम गर्नुपर्ने बताए । सबैले बोट विरुवा लगाउने र अनावश्यक रुख कटान नगरेमा मात्रै वातावरण संरक्षण हुने मन्त्री हमालले बताए । कार्यक्रममा प्रदेश सांसद तुलाराम घर्तीमगरले पाल्पाको तिनाउको बन क्षेत्र, तिनाउ नदी रुपन्देहीको बुटवलदेखि भैरहवासम्मका जनताको प्राण र पिउने पानीदेखि अरबौं रुपैयाँको राजश्व संकलन गर्ने आधार भएकाले यसको संरक्षणका लागि रुपन्देहीको सक्रियता हुनुपर्ने बताए । कार्यक्रममा मन्त्रालयका सचिव दुर्गाबहादुर कार्की, डिभिजन वन कार्यालयका डिभिजन प्रमुख दिपक ज्ञवालीले विश्व वातावरण दिवसको महत्व, तिनाउको वन क्षेत्रले खेलेको भूमिका, समुदायस्तरबाट चाल्नुपर्ने कदमका बारेमा जानकारी गराएका थिए । विश्व वातावरण दिवसकै अवसरमा मन्त्री हमाल सहितको वन मन्त्रालयको टोलीले भूतखोला झरना, जैविक विविधताको सत्यवती ताल र सत्यवती बजै मन्दिर अवलोकन र कोल्डाँडाको तेजपात खेतीको बारेमा स्थानीयबाट जानकारी लिएका थिए ।
यस वर्ष तिनाउ क्षेत्रमा डढेलोमुक्त बनाइएको अवसरमा तिनाउ सव डिभिजन वन कार्यालय, तिनाउ बन समन्वय समिति, पालिकाका २० वटा सामुदायिक बनलाई मन्त्रालयले सम्मान समेत गरेको छ । डिभिजन वन कार्याल पाल्पाले तिनाउलाई डढेलोमुक्त अभियान बनाउन केही महिनादेखि नै अभियान सञ्चालन गरेको थियो । विश्व वातावरण दिवसको अवसरमा पञ्चेवाजा सहित ¥यालीले दोभान बजार परिक्रमा गरी सचेतना जगाइएको थियो । मन्त्रालयका सचिव दुर्गाबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डिभिजन वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरेल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्