सरकारले तोकेको ढुवानी भाडादर लागु गर्नमा ट्रान्सपोर्ट व्यवसायीको अवरोध, ट्रक व्यवसायीमाथि आक्रमण


appharu

२३ जेष्ठ २०७९, सोमबार २०:३८ मा प्रकाशित

पालिकापत्र,बुटवल । सरकारले तोकेको ढुवानी भाडा दर कार्यान्वयन गराउन भएको अनुगमनका क्रममा ट्रान्सपोर्ट व्यवसायीले ट्रक व्यवसायीमाथि सांघातिक आक्रमण गरेको भन्दै दोषीमाथि कारवाही गर्न माग गरिएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनीले यही जेठ २० गतेदेखि सरकारले तोकेको भाडा दर कार्यान्वयन गर्न/गराउन आन्दोलित भएको थियो । सोही क्रममा पड्सरीमा ट्रकहरु संयुक्त पार्किङ स्थलमा जाने क्रममा ढाक्रे ट्रान्सपोर्ट र पौडेल ट्रान्सपोर्टका सञ्चालकहरुले अवरोध गर्दै अनुगमनमा हिंडेका पश्चिमाञ्चल यातायायत व्यवसायी समिति बुटवल र लुम्बिनी ट्रक यातायात व्यवसायी संघ भैरहवाका पदाधिकारीमाथि आक्रमण गरेका हुन् । सरकारले तोकेको भाडा दर कार्यान्वयन गराउने क्रममा ट्रान्सपोर्ट व्यवसायीहरुले गरेको उक्त आक्रमणको नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश समितिले घोर आपत्ति प्रकट गर्दै घटनामा संलग्नमाथि कारवाही गर्न माग गरेको छ । प्रदेश समितिका संयोजक यमप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिमा समितिका पदाधिकारीहरुमाथि गरिएको आक्रमण र दुव्र्यवहार तथा पड्सरीस्थित संयुक्त काउन्टर र क्षेत्रीय कार्यालयमा तोडफोड र तालाबन्दी गर्नेहरुलाई कानूनी कारवाही गर्न माग गरिएको छ । यसैबीच अमर्यादित एवं गैरकानूनी कार्यमा संलग्न सिद्धार्थनगर नगरपालिका–८ का गोपालबहादुर पौडेल क्षेत्री, सियारी १ का परामान्द सापकोटा, ओमसतिया १ का रोशन क्षेत्री र रवि पाण्डेयलाई कारवाहीको माग गर्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष गुप्तबहादुर केसीले कारवाहीको माग गरेका छन् । यसअघि ट्रान्सपोर्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष श्याम हमालले सरकारले तोकेको ढुवानी भाडा दर कार्यान्वयनमा ऐक्यवद्धता जनाउंदै कार्यान्वयन नगर्ने व्यवसायीमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका थिए । उद्योग र ट्रान्सपोर्ट व्यवसायीले बिचौलियाको भूमिका खेल्दा लाखौं लगानी गरेका सरकारले तोकेको भाडा दर समेत नपाउंदा मारमा परेको ट्रक व्यवसायीहरु बताउंछन् ।

प्रतिक्रिया दिनुहोस्