छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु, थप ७ जना मृत फेला


appharu

५ असार २०७९, आईतवार २०:५४ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । रुपन्देही, मकवानपुर, रुकुम पश्चिम, मोरङ, बर्दिया, काभ्रेपलाञ्चोक र सर्लाहीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका ५ मनकामना चोकस्थित सडकमा बा ९५ प ८५६१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका ४ सिर्जनापथ डेरा गरी बस्ने जनकपुर घर भएका ३९ वर्षीय अन्जन कर्णको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार मृतककी श्रीमती ३२ वर्षीया कल्पना कर्ण र छोरा ११ वर्षीय आर्यन कर्णलाई थप उपचारको लागि जनकपुरतर्फ रिफर गरिएको छ ।
रुकुम पश्चिम, आठबिसकोट नगरपालिका ११ छोटेटारमा लु १ ज १८९७ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा चालक बाफिकोट गाउँपालिका ८ दुली बस्ने २६ वर्षीय प्रकाश घर्ती र जिपमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय कबिराम बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नगर अस्पताल राडीमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङ, बेलबारी नगरपालिका २ किस्ती खोलास्थित सडकमा ना ६ ख ५९३६ नम्बरको ट्रकमा हाल नम्बर नखुलेको मोटरसाइकल ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका १० बस्ने ३५ वर्षीय रबिन चाम्लिङ राईकी छोरी २ वर्षीया दयानी राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रबिन र उनकी श्रीमतीको अवस्था सामान्य रहेको छ । ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बर्दिया, बाँसगढी नगरपालिका ९ माछागढ चोकस्थित सडकमा सु प प्र १- ००१ ख २५८२ नम्बरको बसले भे ११ प ७९५७ नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५१ वर्षीय दिल बहादुर केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका ४ तामाघाटपुलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही एरियामा मागी खाई हिँड्ने हाल नाम, थर, वतन नखुलेकी करिब ३२ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका २ स्थित सडकमा यूपी ३२ एलपी २२७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत घर भएका ३० वर्षीय उज्जल सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको अवस्था सामान्य रहेको छ ।

सर्लाही, धनकौन गाउँपालिका ५ छठीघाट पुलमा बीआर ०५ एआर ५१३७ नम्बरको कार आफैँ अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा कारमा सवार रौतहट वृन्दावन नगरपालिका(४ हरैया बस्ने ४ वर्षीय गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ७ जनाको एड्भान्स संजिवनी अस्पताल बरहथवामा उपचार भइरहेको छ । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
कास्की, माछापुछ्रे गाउँपालिका ४ लाचोक बस्ने ६२ वर्षीय नर बहादुर नेपालीको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित विद्युतीय पोलबाट नाङ्गो तार घरको टहरामा खस्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ईनारमा खसेर दुई जनाको मृत्यु
चितवन माडी नगरपालिका ७ देबेन्द्रपुरस्थित ईनार सफा गर्ने क्रममा ईनारमा खसेर २ जनाको शनिबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही नगरपालिका ८ बस्ने ३० वर्षीय शिव राई र सोही ठाउँ बस्ने २५ वर्षीय सूर्य गुरुङ रहेका छन् । इनारमा खसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै स्थानमा सात जना मृत अवस्थामा फेला
सुनसरी, कोशी गाउँपालिका ८ स्थित कोशी नदीको किनारामा रामधुनी नगरपालिका १ बस्ने ६६ वर्षीय परशुराम खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका १० भुजुवा टोलस्थित तुरिया खोलाको बगरमा सोही नगरपालिका(३ बस्ने ५५ वर्षीय दीपक भुषाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, शम्भुनाथ नगरपालिका ६ कठौना चोकस्थित ना।६ ख ३३७२ नम्बरको ट्रकभित्र सुतिरहेका सोही ट्रकका चालक सुनसरी रामधुनि ननगरपालिका २ झुम्का बस्ने ४० वर्षीय बसन्त चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पूर्व, देवचुली नगरपालिका ९ मिलनटोलस्थित मकैबारीमा कावासोती नागरपालिका १२ बस्ने ६२ वर्षीय रुप बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका ३ स्थित निर्माणधिन घर नजिक सडक छेउमा घर बनाउने लेवर काम गर्ने बर्दिया राजापुर नगरपालिका २ घर भएका ३० वर्षीय तुल्सीराम थारु आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुर, भिमफेदी गाउँपालिका ८ महादेवटारस्थित पाँचचर सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँ, आबुखैरेनी गाउँपालिका २ मार्की चोकस्थित मस्याङ्दी नदीको ड्याममा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष शनिबार मृत अँवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्